पानी बिना खेतहरु सुकेको छ गाउँमा ।
बिचरा किसानकाे मन दुखेको छ गाउँमा ।
शहरमा सर्वहारा खाेज्दै हिँड्छन् हाम्रा नेता
दिनदुखिकाे सबै मर्का लुकेको छ गाउँमा ।
मस्ति गर्छन् मन्त्रि अनि सभासद शहर तिर
निमुखा गरिबको शिर झुकेको छ गाउँमा ।
घण्टाैँ भारि बाेक्छन् अझै पल्लाघरे काँइला बा
गणतान्त्रिक विकास पुग्न चुकेकाे छ गाउँमा ।
गार्ड राख्छन् नेताहरु असुरक्षित महशुस गरि
सुरक्षा दिन एउटा कुकुर भुकेकाे छ गाउँमा ।
फेसन अरे शहरतिर फिटिङ चाहिने लुगापनि
काँइलि आमाको पटुकि फुकेकाे छ गाउँमा ।
No comments:
Post a Comment