Translate

Saturday, 29 August 2015

बाहुनि , प्रेम अनि त्यो पत्र

स्कुल पढ्दा एउटि बाहुनि थिइ खुब माया गर्थि मलाई । हेर्दा सुन्दरि पनि थिइ तर मेरो लक्ष्य प्रेम भन्दा पनि पढाइ तिर थियो । मलाई जसरि पनि एसएलसीमा प्रथम श्रेणी ल्याउनु थियो । त्यो बेला गाउँमा प्रथम श्रेणी ल्याउनेकाे खुब चर्चा हुन्थ्यो मलाई पनि चर्चित बन्ने भुत चढेको थियो त्यसैले उसको मायालाइ ध्यान नै दिइएन । उ र म ६ कक्षा देखि सँगै पढेको । खै उ किन हाे ६ कक्षामा  फेल भईछे ।  सायद हामीसँगै पढ्न लेखेको थियो भाग्यमा । उसको र मेरो मिल्ने चिज भनेको आँखा मात्रै हाे । उसको  पनि आँखा हल्का ठुलो थियो र मेराे पनि । आँखा बाहेक अरु केही पनि हाम्रो समान थिएन । न कुल मिल्थ्याे न जात न त हाम्रो आर्थिक स्तर नै । तर उ मलाई ज्यादा प्रेम गर्थि खै किन हाे ??

कक्षामा मेधावि विद्यार्थीभित्र म पनि पर्थेँ । बाहुनि पढाइमा कमजोर थिइ । कहिलेकाहीँ नआएको कुरा मलाई साेध्थी म सिकाइ दिन्थेँ उ बदलामा आँखा मारि दिन्थि म मन्द मुस्कानले त्यसको प्रतिउत्तर दिन्थेँ । खासै पढाइ तिर ध्यान नै दिन्न थि । सायद उ साेच्दि हाे जिन्दगी माेज हाे त्यसैले हाँसेर बिताउनु पर्छ । कहिलेकाहीँ स्कुल पछाडि बाेलाएर खै के के साेध्थि म अलिक लज्जालु थिएँ उत्तरमा मुस्कान मात्रै दिन्थेँ सायद उसलाई त्यहि मुस्कान प्याराे थियो ।

मेरो र उसकाे दैनिकी पनि फरक थियो । म स्कुल सकेर घर फर्के लगत्तै आमाले तखेतामा राखि दिनु भएको बिहानकाे भात माइकाे बुबु शीत सुप्पुक्क पारेर बाख्रा गाेठालाे लाग्नु पर्थ्याे । बेलुकी फर्कँदा अलिकति बाख्रालाई स्याउला नि ल्याउनु पर्ने हुन्थ्यो । बस त्यहि समयमा गाेठालाेमा नै गणितका गृहकार्य सकिसकेकाे हुन्थेँ म । गृहकार्य सकेर स्याउला काट्याे अनि भारि हालेर माथि डाँडामा बिसाएर फेरि बाख्रा खाेज्न तिर लाग्नु पर्थ्याे । बाख्रा जम्मा गरेर घर फर्कँदा झमक्क साँझ परिसकेको हुन्थ्यो  । फेरि घरमा आयो घरायसी काम पनि गर्नुपर्ने पढ्ने समय प्राय नहुने । तर बाहुनिकाे त काम केही गर्नुपर्ने थिएन । स्कुल सकेर घर जाँदा उसकी आमाले ताजा खाजा बनाइ सकेकी हुन्थिन् उ खाजा खाएर खेल्न निस्कँन्थि । साँझ धुलाम्मे भएर फर्कँन्थि । अनि हातखुट्टा धाेएर चाेटामा जान्थि र नेपालीकाे दुईचार वटा कविता ठूलो स्वरमा पढ्थि । ताकि वरपरकाले पनि फलानोकि छाेरि खुब पढ्छे भन्ने हाेस् । बाटोमा हिँड्नेहरु कहिलेकाहीँ उसको प्रसंसा पनि गर्थे त्यहि ठूलो स्वरमा पढेको सुनेर ।

मलाई बाख्राहरुले जिन्दगी चिन्ने अवसर प्रदान गरे या भनाैँ उनिहरु पनि मलाई खुब प्रेम गर्थे । त्यसैले कहिल्यै पनि अरुको बालिमा पसेर बालि खाएनन् जसको परिणामस्वरूप मैले कसैको गालि खानु परेन । सायद उनिहरुलाइ पनि मलाई अरुले गालि गरेको मन पर्दैन थियो हाेला । कहिलेकाहीँ घाेर्ले खसी म पढेको ठाउँमा आएर उग्राएर बस्थ्याे । अनि चर्न जा भनेर म कराउदा बिचरा उ आँखामा आँसु पार्दै तलतिर झर्थ्याे । मलाई बाहुनिले भन्दा ज्यादा प्रेम सायद बाख्राहरुले गर्थे त्यसैले उनिहरु मेरो समिपमा हुँदा खुसि हुन्थे । हुन त जनावरले प्रेम व्यक्त गर्न सक्दैनन् तथापि हामी महसुस गर्न सक्छौं । हरेक साँझ बिहानकाे मेरो डिउटि गाेठालाे र घासदाउरा थियो । त्यसैले पनि मलाई बाख्राहरु प्रिय लाग्थ्यो । अति मिलनसार साथि नै थिए ती बाख्रा पनि ।

उता बाहुनि प्राय गृहकार्य नगरीकन स्कुल जान्थि । अनि हतारहतार मेरो कापि मागेर भटाभट सार्थि र सरलाइ बुझाँउथि । उ बाठि थिइ सकभर गालि खान्न थिई तर लाेद्दर थिइ । लाष्ट ब्यन्चमा बस्थि अनि सरले साेध्लान्कि भनेर प्राय टाउको झुकाएर बस्थि । उसलाई ट्यालेन्ट हुनु थिएन बस समय कटाउनु थियो गालि नखाईकन । सधैं विद्यालयमा हाेलपास सिस्टम चल्यो त्यसपछि उ कहिल्यै फेल हुन परेन । यहि क्रम निरन्तर १० कक्षा सम्म चल्यो । दशमा पुगेपछि मैले पुरै ध्यान पढाइ तिर दिन थालेँ प्राय बाहुनिकाे मेरो बाेलचाल नै हुन पाएन । बिहान हामाे ट्युसन हुन्थ्यो तर उ कमजोर ग्रुपमा थिइ म ट्यालेन्ट ग्रुपमा त्यसैले भेटघाट अलिक पातलो भयो ।

टेस्ट नजिकिँदै जाँदा विद्यालयमा काेर्स पनि सकियो त्यसपछि म स्कुल जान छाेडेँ घरमै बसेर प्राक्टिस गर्न थालेँ अनि केही अप्ठ्यारो परे सरलाइ साेध्न कहिलेकाहीँ स्कुल जान्थेँ । एक दिन उ पनि स्कुलमा रहिछे । अनि भन्दै थिइ अचेल त मान्छेहरु अलिक ठुलाबडा भए छन् । हामिसित त बाेल्नै छाडे । तर मैले उसलाई वास्तविकता भन्दा पनि उ सधैं त्यहि गुनासो गर्थि । टेष्ट आयो राम्रोसँग पास पनि भईयाे बाहुनि पनि पास भइछे । अनि बिदाइकाे कार्यक्रम भयो स्कुलमा बिचरी बाहुनि त्यो दिन खुब राेइ सायद उसलाई लाग्यो हाेला उसको मुटुमा अंकुरण भएको प्रेम अब छिट्टै मर्दै छ पुर्ण आकार धारण गर्न नपाउँदै ।
सम्झाउने काेसिस गरेँ सबैलाई तर खै केटिहरु किन हाे बढि नै भावुक भने। कहिलेकाहीँ त शंका पनि लाग्थ्यो कि यिनिहरु राेएर देखाउन खाेजेका हुन् या साँच्चिकै राेएका हुन् ।  हुन त बिछाेडमा सबैलाई पीडा हुन्छ । मलाई पनि थियो तर त्यो बिछाेड सफलताको लागि थियो जिन्दगीको अर्को पाइला उठाउनु थियो । त्यसैले पछाडिको सिँडि नछाेडि अगाडि बढ्ने सम्भावना थिएन । अब पिर लिएर केही हुनेवाला छैन भन्दै मन बुझाइयाे ।
कार्यक्रम सकेपछि बाहुनिले फेरि स्कुल पछाडि बाेलाइ अनि हातमा एउटा खाम थमाइ रुँदै । अनि हिँडि उसको घरतर्फ केही नबाेलि । म पनि आँखामा आँसु भर्दै लागेँ घर तिर । त्यो खाम स्कुलमा नै खाेलेर हेराैँ जस्तो नलागेको त कहाँ हाेर फेरि अरुले देख्लान् भन्ने डरले खाेल्ने हिक्मत आएन । बाटोमा पनि खाेलेर हेराैँ झैँ लागेको थियो तर मनलाई कन्ट्रोल गरेँ । हतारहतार घर पुगेर ड्रेस नफेरि खाम खाेलेँ ।  वाह सेन्टकाे वास्नाले पुरै काेठा मगमगाउन थाल्यो । पत्र खाेलेँ बिचरीले मायाको धेरै कुरा लेखेकी रैछ । सायरि गजल कविता त कत्ति हाे कत्ति । माया प्रेमका रसिला अनि कसिला शब्दले सुसज्जित त्यो प्रेम पत्र मेरो जिन्दगीको पहिलो पत्र थियो । जिन्दगीमा कुनै पत्र पढेको थिईन । व्याकरणमा पत्र कसरी लेख्ने भन्ने त पढेको हुँ परिक्षामा पनि १०नम्बरको  काे प्रश्न आउँथ्यो नेपाली विषयमा  पत्र लेख भनेर तर यसरी मिलेको शब्द लहरमा लेखिएको पत्र पहिलो चाेटि पढेँ ।
उसले लेखेको त्यो पत्रले मेरो दिमाग यसरी हल्लायाे कि मैले चारैतिर उ मात्रै देख्न थालेँ । त्यो रात उसको कल्पनामा अनिदाे मै बित्यो । छट्पटी उकुसमुकुस खै के के भयो के के अहिले पनि सम्झँदा मन कस्ताेकस्ताे हुन्छ ।
बिहान उठेर उसलाई भेट्न जाउँ कि जस्तो पनि नलागेको हैन तर धैर्य गर्नुपर्छ भनेर गइन । पत्रकाे प्रतिउत्तर पठाउनु ल भनेर उसले पत्रकाे बिट मारेकि रैछ तर मलाई त्यति राम्रोसँग पत्र लेख्ने मेसाे थिएन । जसाेतसाे लेखिसकेकाे चाहिँ थिए । पर्सिपल्ट स्कुल गएँ केही नआएको कुरा सरलाइ साेध्न भनेर  त्यतिबेला थाहा भयो उ शहर गई सकि छ एसएलसीकाे लागि । हुन त अझै एसएलसी आउन १३ दिन बाँकी थियो ।
मेरो पत्र उसको हातमा पुग्ने सम्भावना लगभग अन्त्य भएकाे महशुस गरेँ । अनि लेखिएको त्यो पत्र त्यहि खाममा हालेर उसको पत्रसँगै मेरो किताब राख्ने बाकसमा राखेँ । अझै पनि त्यो पत्र सुरक्षित छ त्यो बाकस भित्र मेरो नाेट र किताबहरुसँगै  उसको हातको प्रतीक्षा गरेर बसेकाे । एसएलसी दिँदा भेट त भयो तर खासै बाेलचाल भएन । परिक्षाकाे अन्तिम दिन घुम्न जाने प्रस्ताव साथीहरूले राखे घुम्न गइयाे पनि । तर एक्लै गएको जस्ताे मज्जाले बाेल्ने र खुल्ने अवसर मिलेन । परिक्षा सकेको पर्सिपल्ट उसले मलाई उ शीत घुम्न जाने अफर गरि या भनाैँ रिक्वेष्ट गरि । हामी गयौं खै के पार्क हाे नाम त मलाई याद छैन तर उ पहिला पनि गएकि रेछ अनि उसैले लगि । एकान्त त्यो ठाउँमा हामी छुट्टै एउटा धुपिकाे रुख मुनि बस्याैँ । उ मेरो समिपमा आएर बसि हल्का स्पर्श गरेर । म लज्जालु भएँ उ मुसुक्क हाँसि अनि अनायासै हल्का चुम्बन दिई । खै किन उ यति छिट्टै जाेशमा आइ थाहा छैन तर उसले मलाई न्यानाे मायाको आभाष भने दिई । त्यो दिन हामी पहिलोपल्ट सँगै बसेका र खुलेको पनि जिन्दगीको धेरै सवालमा उसले कुरा गरि । अनि गुनासो पनि पाेखि र माया पनि दर्साइ ।खै उसलाई मेरो मायाको किन यत्ति जरुरत थियो  मलाई थाहा थिएन । उ मरिहत्ते गर्थि । त्यो दिन उसको काखमा सुतेर आकाश नियालेँ पुरै आकाशमा उसको तस्बिरहरु कुदिरहेका देखेँ । त्यतिबेला लाग्यो कि म पुरै उसमा बिलिन भइसकेको रहेछु । उसले पनि बेलाबेला चुम्बन दिन्थि तर हल्का मात्रै । मानाैँ कि उसको ओठले मेरो गालामा खासै स्पर्श नै गर्न हुँदैन झैँ गरि । उसले पनि मेरो छातिमाथि टाउको राखेर  भनिथि उ म बिनाको जिन्दगी शाेच्न पनि सक्दिनँ भनेर । करिब ६ घण्टाकाे बसाइ पछि हामी छुट्टिएर म मेरो काेठा तिर लागेँ त उ उसको काेठा तिर लागि । स्मृतिमा उसका तस्बिरहरु सल्बलाइरहेका थिए बाटोमा कसै शीत बाेलिन । मात्रै उसको कल्पनामा डुबेँ । त्यो दिन खाना नखाई सुतेँ थाहा छैन उसले खाइ या खाइन । तर म भने उसको प्रेमले पुरै भरिएको थिएँ भाेककाे आभास नै भएन । मात्रै उसकाे तस्बिर देखेँ काेठाभरि । अनि शाेच्न थालेँ जिन्दगीको बारेमा वाह एकजनाले माया गर्दा पनि मान्छे कत्ति बदलिँदो रहेछ है । उसले त बिहे देखि हाम्राे छाेराछाेरिकाे नाम के राख्ने सम्म जुराइ सकेकी थिइ तर म भने हाम्रो प्रेम सफल हुन्छ भन्नेमा विस्वस्थ भइसकेको थिइन । तथापि उ बिना बाँच्न सक्छु भन्ने चाहिँ मनमा एक रति पनि थिएन । छुट्टिएर काेठामा पुगे पनि मन सधैं उ तिर मात्रै थियो । भाेलिबेर त  घर फर्कनु थियो मलाई तर उ अलिक दिन पछि फर्कने कुरा उसले बताएकी थिइ । म लागेँ भाेलि बेर घरतिर झाेला बाेकेर । घर गएको महिना दिन सम्म पनि उ आइन गाउँमा अनि मनमा झन चिन्ता बढ्यो । उसको यादमा डुब्दाडुब्दै म गहिराइमा पुगिसकेको थिएँ । तर उ फर्किन कहिल्यै । पछि थाहा भयो उसको बिहे उसको ठुलो बुबाले शहरको धनी घरमा गरिदिनु भएको रे छ । सायद धनले उसको आवश्यकता पूरा भयो हाेला तापनि अझै उ म झैँ तड्पिरहेकि छ कि भन्ने झिनो आशा मनमा बाकेर टुटेको सपना सँगाल्दै जिउन थालेँ । केही बर्ष पछि फेरि भेट भाे बाहुनि त दुब्लो भइछे सायद मेरो यादमा डुबेर हाेला भन्ने शाेचेँ बाेल्न सकिनँ आँखामा आँसु आयो उसले पनि आँसु झारि  । बस सम्बन्ध सकियो तर उसले दिएको त्यो पत्र अझै पनि मगमगाइरहेकाे छ त्यो बाकसकाे कुनामा । जसरि मेरो हृदयमा उसको प्रेम रमिरहेकाे छ ।

मुक्तक

हाम्रो  लागि छुट्टै देश बनाउँछु भन्थि । 
अरुको भन्दा माया विशेष बनाउँछु भन्थि । 

अचेल त वानपिसमा सजिएर हिँडेकि रै छे 
जस्तो भन्छाै त्यस्तै केश बनाउँछु भन्थि । 

Thursday, 27 August 2015

गजल

काेहि जल्ने काेहि जलाउने यस्तै छ संसार ।
आफ्नो मात्रै राज्य चलाउने यस्तै छ संसार ।

यहाँ अधिकार माग्छन् सडकमा टायर बालेर
साेझा हाेमिने बाठाेले छलाउने यस्तै छ संसार ।

यहाँ सपना बाँड्छन् सबै क्षमताभन्दा बढीको
सुन्तला भन्दै कागती फलाउने यस्तै छ संसार ।

जनतालाई देश बनाउने सुन्दर सपना देखाएर
आफ्नै देशको ढुकुटी ढलाउने यस्तै छ संसार

स्वयंम आफ्नो सुरक्षा दिनेलाई आफैंले मारेर
शक्ति हुनेले सरकार गलाउने यस्तै छ संसार । 

Tuesday, 25 August 2015

मार्क्सवाद-लेनिनवाद-माओवाद: सर्वहारावाद वा बुद्धिविलाश


मार्क्सवाद-लेनिनवाद-माओवाद: सर्वहारावाद वा बुद्धिविलाश
साभार www.shajhachautari.wordpress.com
shajhachautari / December 28, 2013
लेखक: रमेश शर्मा

(रमेश शर्मा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनको पूर्व अध्यक्ष हुनुहुन्छ । मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध शर्मा हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयका सहप्राध्यापक हुनुहुन्छ । यस विश्लेषणात्मक लेखमा उहांले एनेकपा (माओवादी) को भर्खरैको केन्द्रीय समितिका निर्णयहरूसमेतको अध्ययन गरेर संशोधनवादको ऐतिहासिक क्रम र चरित्रको विश्लेषण गर्दै नेकपा (माओवादी) एनेकपा (माओवादी) बन्दै कसरी नयां विशेषताको संशोधनवादको अभ्यास गरिरहेको छ भन्ने कुरा उल्लेख गर्नु भएको छ ।)

विषयप्रवेश

वर्तमान सन्दर्भमा मा–ले–मावादको प्रयोग नेपालमा कसरी भइरहेको छ भन्ने विषयमा यो लेख केन्द्रित छ । त्यसमा पनि खासगरी आफूलाई सबैभन्दा क्रान्तिकारी ठान्ने एनेकपा(माओवादी)ले अंगालेको कार्यनीति र व्यवहारको छोटकरी चर्चा गर्ने प्रयास यसमा गरिएको छ ।

सैद्धान्तिक पृष्ठभूमि

सन् १८४८मा कम्युनिस्ट पार्टीको घोषणापत्रबाट साम्यवादी समाजको स्थापना गर्ने लक्ष्य लिएर सुरु भएको कम्युनिस्ट सिद्धान्त, मार्क्सवाद, लेनिनवाद हुँदै माओवादसम्म आइपुगेको कुरा सर्वविदित छ । तर यसको विकासक्रम भने बीचबीचमा अवरुद्ध हुँदैआएको छ । प्रतिनिधिमूलक रूपमा हेर्दा यी अवरोधहरू पेरिस कम्युनको स्थापनापछि, रुसमा कमरेड स्तालिनको मृत्युपछि र चीनमा कमरेड माओको मृत्युपछि आएका देखिन्छन् । पेरिस कम्युनको विकासमा आएको अवरोधको जिम्मेवारी तात्कालीन नेतृत्वपङक्तिको अपरिपक्वतामा जान्छ भने रुसी र चिनियाँ क्रान्तिपछि आएका अवरोधहरूको कारण मार्क्सवादभित्र संशोधनवादको विकास हो । साम्यवादी समाजको स्थापनातर्फ अघि बढिरहेको सोभियत सङ्घको विकासलाई अवरुद्ध पार्नुमा कमरेड स्तालिनको मृत्युपछि विकसित खुस्चेभी संशोधनवाद जिम्मेवार छ भने समाजवादी चरणमा निरन्तर अघि बढेको चीनको समाज विकासक्रमलाई अवरुद्ध पार्नुमा कमरेड माओको मृत्युपछि विकसित देङ सियाओ पेङको संशोधनवाद जिम्मेवार रहेको कुरा जगजाहेर छ । यसप्रकार, विश्वकम्युनिस्ट आन्दोलनमा आएका अवरोधहरूका कारणहरूमा नियत राम्रो हुँदाहुँदै पनि नेतृत्वपङ्क्तिमा रहेको अपरिपक्वता र नियतवश नै लागू गरिने संशोधनवाद मूल कारकतत्त्व बनेको पाइन्छ । यताका दिनहरूमा मार्क्सवाद–लेनिनवाद र माओवादको भ्रष्टीकरणको एकमात्र कारण संशोधनवाद रहेको देखिन्छ ।

यिनै कुराहरूलाई आत्मसात गरेर नै हुनुपर्दछ, मार्क्स, लेनिन र माओले संशोधनवादसँग लड्नका लागि मार्क्सवादलाई विविध प्रकारले सुसज्जित तुल्याउनु भयो । वर्तमान समयमा कमरेड माओले प्रदान गर्नुभएको क्रान्ति सम्पन्न गर्ने र संशोधनवाद वा प्रतिक्रान्तिविरोधी २ वटा सैद्धान्तिक अस्त्रलाई अमोघ अस्त्रको रूपमा लिनुपर्दछ, ती हुन्; सर्वहारावादी क्रान्ति सम्पन्न गर्न अंगालिने सङ्घर्षको स्वरूपमा ‘दीर्घकालीन जनयुद्ध’ र समाजलाई साम्यवादी अवस्थासम्म पुर्याउने क्रममा आइपर्ने वाधा–विरोधसँग लड्नको निम्ति लागू गरिने ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ अर्थात् ‘क्रान्तिको निरन्तरता’ को सिद्धान्त । आजसम्म भएको मा–ले–मावादको विकास र यो संगसंगै भएको संशोधनवादको विकासलाई हेर्दा के देखिन्छ भने, मा–ले–मावादका विविध सिद्धान्तहरू र विशेषगरी कमरेड माओले प्रस्तुत गर्नु भएको यी २ प्रस्थापनाहरू आजको विश्वमा मा–ले–मावाद लागू गर्न र संशोधनवादसंग लड्नको निम्ति पर्याप्त छन् ।

संशोधनवादको नेपाली संस्करण

नेपालमा संशोधनवादको औपचारिक प्रकाशन विगतमा मनमोहन अधिकारीबाट सुरु भएको हो । यसको नयाँ एवम् परिमार्जित संस्करण केशरजङ रायमाझी, मोहनविक्रम सिंह, निर्मल लामा, मदन भण्डारीले प्रकाशन गर्दैआए । २०६३ सालपछि संशोधनवादलाई आधुनिक स्वरूप दिएर नितान्त नयाँ कलेवरमा प्रकाशन गर्ने काम चाहिं प्रचण्डले गरेका छन्, जसलाई आजका मितिसम्म एनेकपा (माओवादी)ले प्रयोगमा ल्याइरहेको छ । प्रचण्डको यो परिमार्जित संस्करण संभवतः विश्वभरिकै संशोधनवादीहरूका लागि नयाँ–नौलो छ । अब विश्वका कम्युनिस्टहरूले लिने बाटो नै उनले दिएको एकमात्र बाटो हो भनेर प्रचण्ड आफैंले भन्दै हिंडेका छन् । सुन्दा हाँसो पनि उठ्दछ । होनहार युवा, किसान, मजदुर, बुद्धिजीवी एवम् समस्त नेपाली जनताप्रति यस किसिमको चिन्तनले गरेको गद्दारीलाई हाँसोमा उडाएरमात्र बस्नु न्यायोचित भने हुँदैन । नेपालमा प्रचण्डको नेतृत्वमा देखिएको संशोधनवादको नयाँ प्रयोगलाई छोटकरी व्याख्यासहित बुँदागत रूपमा निम्नबमोजिम राखने प्रयत्न गरिएको छ ।

१. प्रचण्डपथको उल्लेख

देशमा क्रान्ति सुरु भएर विद्रोही शक्ति जनतामाझ स्थापित हुने क्रममा जनयुद्धको निम्ति गरिएको पहललाई नै विचारको स्तरमा उचाल्न खोज्नु निम्न पुंजीवादी अधैर्यता हो । क्रान्ति सम्पन्न गर्ने चिन्ता र चिन्तन भन्दा पनि आफ्नो बडप्पनको प्रचारबाजीमा रमाउन खोज्नु मार्क्सवादसंगत कुरा होइन । नयाँ भूमिमा सुरु गरिएको प्रयोगको पहलबाटै हौसिएर आफूलाई मार्क्स, लेनिन, माओको समकक्षी ठान्न पुग्ने सोचाइ यथार्थमा दक्षिणपन्थी भडकाउकै लक्षण हो, जब कि देशमा क्रान्ति सम्पन्न भइसक्दा पनि त्यहाँ नयाँ विचारधारा आउनैपर्दछ भन्ने जरुरी छैन ।

२. जनयुद्ध अन्त्यको घोषणा

प्रचण्डले गिरिजासंगको मिलोमतोमा जनयुद्ध अन्त्य भएको घोषणा गरेर नेपाली कम्युनिस्ट आन्दोलनमा निर्लज्ज ढङ्गले ठाडै संशोधनवाद (प्रकारान्तरले प्रतिक्रियावाद) लागू गरे । विश्वसर्वहारा आन्दोलनमा आज राज्यसत्ता कब्जा गर्न अंगालिने सङ्घर्षको एकमात्र स्वरूप ‘दीघकालीन जनयुद्ध’ हो । यो स्वरूप अविकसित मात्र नभई विकसित मुलुकहरूका लागि पनि सही भएको कुरा मार्क्सवादीहरूले स्वीकार गरिसकेको विषय हो । सर्वहारावादीहरूले जनयुद्धको विकल्पमा संविधानसभालाई स्थापित गर्न खोज्नु भन्दा ठूलो पाखण्ड अरू के हुन सक्दछ !

३. दुईको एकमा संयोजन

मार्क्सवादी मान्यताअनुसार एकको दुईमा विभाजन हुँदैजान्छ । अर्थात् क्रान्तिकारी शक्तिहरू क्रान्तिमा र गैरक्रान्तिकारीहरू क्रान्तिविरोधी तप्कामा सामेल हुँदैजान्छन् र अन्ततोगत्वा बढ्दो क्रान्तिकारी शक्ति विजयी बन्दछ । यसको विपरीत प्रचण्डले क्रान्तिकारी र गैरक्रान्तिकारीहरूलाई एकै ठाउँमा जम्मा पारेर क्रान्तिलाई कहिले सम्पन्न हुन नसक्ने अवस्थामा पुर्याइदिए ।

४. एकता–सङ्घर्ष–रूपान्तरणको उल्टो प्रक्रिया

मालेमावादी मान्यताअनुसार पार्टीभित्रका साथै आमजनतामाझ न्यून चेतनास्तर भएका व्यक्तिहरूसंग सैद्धान्तिक र व्यावहारिक अन्तरक्रिया चलाएर सङ्घर्षको प्रक्रियाद्वारा क्रान्तिकारी रूपान्तरण गर्दै अघि बढिन्छ । यसका विपरीत प्रचण्डले सचेत ढङ्गले जानीबुझी संसदीय आहालमा डुबेकाहरूसंग एकता गरेर आफ्नै पार्टीभित्र रहेका क्रान्तिकारी तप्कालाई समेत संसदवादी–बहुलवादी खेमामा रूपान्तरित गराइरहेका छन् । आज एनेकपा (माओवादी) का नेता, प्रवक्ताहरू एकता–सङ्घर्ष–रूपान्तरणको सूत्रलाई भाका हालेर दोहोर्याउँछन्, तर रूपान्तरणको दिशा संशोधनवाद भएको कुरा भने प्रस्ट्याउन चाहँदैनन् ।

५. विद्रोहको आवरणमा अराजकता लागू

यो प्रचण्डद्वारा नितान्त नयाँ रूपमा लागू गरिएको संशोधनवाद हो । बालाजु, खरिपाटी, पालुङ्टार तथा अन्यान्य आमसभाहरू, जहाँ क्रान्तिकारी जनता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति हुन्छ, त्यहाँ प्रचण्ड मुठ्ठी उचालेर हात ठाडो पार्न, मुख रातो पार्न, दारा किट्न पछि पर्दैनन् र कागजमा विद्रोहको कार्यदिशा पनि पारित गरिदिन्छन् । विद्रोहको निम्ति दस्ताबेज मात्रले केही हुनेवाला छैन, त्यसको निम्ति त सिद्धान्तनिष्ठ, अनुशासित, बलिदानी, लडाकु कार्यकर्ता र नेतासहितको कार्ययोजना आवश्यक पर्दछ भन्ने पनि उनलाई राम्रोसँग थाहा छ । यही कुरा छल्नलाई नै उनी घुमाउरो बाटोद्वारा पार्टीलाई ढिलाढाला, आर्थिकरूपमा अनुशासनहीन, योजनाविहीन, पद–प्रतिष्ठा र लाभका लागि गुट–उपगुट आदिको निर्माण गराएर सिङ्गो पार्टीलाई अराजक व्यक्तिहरूको भीड बनाउन पुग्दछन् । यसरी, मा–ले–मावादी मान्यता ‘संशोधनवाद होइन मार्क्सवाद लागू गर’ को विपरीत, प्रचण्डले क्रान्तिकारी कार्यदिशा भनिएको ‘विद्रोह’को आवरणमा व्यवहारमा संशोधनवाद लागू गर्दै आइरहेका छन् । समयको एउटा यस्तो बिन्दु आउँछ, जहाँ पुगेर सबैजना अहिले ‘विद्रोह’ को वस्तुगत अवस्था छैन भनेर स्वीकार्न बाध्य हुन पुग्दछन् भन्ने कुरा उनले बुझेका थिए । यही गुरुयोजनाअनुसार प्रचण्ड अहिले निर्णायक अवस्थामा आएर ‘विद्रोह’ को कार्यदिशालाई छोडेर ‘शान्ति र संविधान’ को कार्यदिशामा आएका छन् । यसरी, भाषणमा क्रान्तिका कुरा गर्दैजाने र व्यवहारमा संशोधनवाद लागू गर्दैगएर पार्टीलाई प्रतिक्रियावादमा रूपान्तरण गर्ने उनको यो नयाँ प्रयोग देखिन्छ ।

६. दुस्मनसँग सत्यनिष्ठ जनतासँग ढांटछल

प्रचण्डले आफ्नो वास्तविक चरित्रको खुलासा आफैँले गर्न थालेका छन् । पहिलेपहिले कार्यकर्ताहरूसामु आफूलाई क्रान्तिकारी नै रहेको देखाउन दुस्मनसँग गरिएका संझौताहरूको वास्ता नगर्नु भनेर फकाउँदथे । तर अहिले आएर उनी उनको विचार, योजना, भौतिक शरीर आदिको रक्षक गिरिजा कोइरालाजस्ता कुख्यात नेता रहेको अभिव्यक्ति ओकल्न थालेका छन् । प्रचण्डलाई नै आदर्श मानेर जीवनमरणको सङ्घर्षमा होमिएका जनयुद्धकालीन सहयोद्धा कमरेडहरूलाई उनले, सके आफ्नो शरीर नसके उनको विचारको भक्षक भएको घोषणा गरिदिए । जबकि गिरिजा कोइराला भन्ने व्यक्ति नेपालको इतिहासमा नेपाली जनताको निम्ति अब्बल दर्जाका गद्दार हुन्, जसले वि.सं. २०४८ सालमा प्रधानमन्त्री भएको बेला सिङ्गो राज्यसंयन्त्रलाई राष्ट्रघात र तस्करीतन्त्रमा परिणत गरेर देशलाई रसातलमा पुर्यायाउने काम गरे । यसरी प्रचण्डको आन्तरिक सांठगांठ प्रतिक्रियावादीहरूका नाइकेसँग रहेको तर जनताका अगाडि भ्रम श्रृजना गर्न उनी कलात्मक अभिनय गर्न खप्पिस रहेको कुरा प्रस्ट भएको छ ।

७. व्यक्तिवादी कुलीनता

युद्धकालमा विकसित समानता, भ्रातृत्व, सहकारिता, सामूहिकताको भावनाको ठाउँमा प्रचण्डले अहिले व्यक्तिवादी कुलीन भावनालाई प्रश्रय दिइरहेका छन् । हिजो समानताका आधारमा स्थापित सम्बन्धहरू भत्कदै गएका छन् र नयाँ पुंजीवादी–उपभोक्तावादी सम्बन्धहरू जोडिंदैगएका छन् । कम्युनिस्ट सादगीविपरीत प्रचण्डका डेढ करोड पर्ने वाहन, दैनिक फेरिने पोसाक, विशाल महलको बसाइ विभिन्न तहका सुरक्षा गार्ड आदिलाई ढाकछोप गर्न उनी सांसदहरू, नेताहरूलाई पनि सुटबुट र सुरक्षा घेरामा प्रस्तुत गर्ने प्रयत्न गर्दछन् । यसरी उनी आफूलगायतका नेताहरूलाई सर्वसाधारण जनताबाट कटाई कुलीन वर्गमा परिणत हुन र गर्न खोज्दैछन् । संशोधनवादलाई स्थायित्व प्रदान गर्ने उनको यो अर्को चाल हो ।

८. क्रान्तिको पहल पनि र प्रतिक्रान्ति पनि

लामो समयसम्म संशोधनवादी गोलचक्करमा रहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशा दिने क्रममा अघि बढेको कम्युनिस्ट पार्टीले जनयुद्ध सुरु गर्दाताकाको नेतृत्वमा प्रचण्ड थिए र आज पार्टीलाई संशोधनवादी (प्रकारान्तरले प्रतिक्रियावादी) दिशामा ओरालो लगाउने पनि उनै प्रचण्ड भए । युद्धकालमा गरिएको नेतृत्वकेन्द्रीकरण हालसम्म पनि कायम रहेकोले गर्दा पनि उनलाई पार्टीमा संशोधनवादी कार्यदिशा लागू गर्न सजिलो हुनपुग्यो । नेपालमा जनयुद्ध सफलतापूर्वक एकपछि अर्को छलाङ मार्दै अघि बढिरहेको अवस्थामा कुनै गम्भीर धक्काबिना उनले अचानक यसरी प्रतिक्रान्तिकारी छलाङ मार्नु पर्ने कारण के रह्यो भत्रे कुरा चाहिं अझै रहस्यमै छ ।

९. बुद्धिविलास

नेपालमा जनयुद्ध सुरु हुनु भन्दा अघि र जनयुद्धकालमा अत्यन्त गहनरूपमा मा–ले–मावादको विषयमा सैद्धान्तिक बहस र छलफल चल्दथ्यो । चिनियाँ क्रान्तिको बेलामा समेत सिङ्गो पार्टीपङ्क्तिमा यति धेरै अन्तरक्रिया हुन्थ्यो वा हुदैनथ्यो भन्न गाह्रो छ, जसले गर्दा माओवादी पार्टीको नेतृत्वपङ्क्तिमा सैद्धान्तिक स्तर निकै माथि उठेको थियो । त्यसैलाई आज माओवादी नेताहरू बुद्धिविलासको रूपमा उपयोग गरिरहेका छन् । जसरी बि.ए. पास भएका शिक्षकहरूले स्कुलमा र एम्.ए. पास भएकाहरूले वैज्ञानिक शिक्षाको आदान–प्रदानसँग बेखबर भएर कलेजमा भुरा खेलाएर जीवन निर्वाह गरिरहेका छन्, त्यसैगरी माओवादी नेतृत्वपङ्क्तिले पनि आज मा–ले–मावादी सैद्धान्तिक शिक्षालाई आफ्नो मागिखाने भाँडो बनाइरहेको देखिन्छ, सर्वहारा क्रान्तिबाट उनीहरू बेखबर छन् । विशेषगरी काङ्ग्रेस, एमाले आदिका नेताहरूको दार्शनिक, राजनैतिक चेतनास्तर न्यून भएको कारणले माओवादी नेताहरू न्यून चेतनास्तर भएका जनतामाझ आफूलाई बिकाउ बनाउन सफल छन् । नेपालमा सर्वहाराक्रान्तिलाई अब सुदूर भविष्यको र कहिले नआउने विषय बनाइंदैछ ।

समग्रमा भन्ने हो भने आज नेपालमा एनेकपा (माओवादी)ले मुखले मा–ले–मावाद भन्दै व्यवहारमा संशोधनवाद लागू गरिरहेको छ । त्यसमा पनि पार्टी मुख्यालयको रूपमा रहेका प्रचण्डले नै संशोधनवादको नेतृत्व गरेपछि पार्टीमा संशोधनवाद हाबि हुने कुरा निश्चित छ । धेरै पहिले नै लामो बहसपछि स्थापित ‘माओवाद’ को विषयमा विवाद सुरु भएको छ, वीस वर्ष अगाडि टुङ्गिसकेको शिक्षामा निजीकरणको विरोध, एन्जीओ., आईएन्जीओको विरोधजस्ता विषयहरूलाई आज बहसको एजेण्डामा ओरालिएको छ । यी सबै कुराहरू पार्टीलाई बुर्जुवाकरण गर्ने तरिका हुन् । सैद्धान्तिकरूपमा स्खलित व्यक्ति वा पार्टी व्यवहारमा क्रान्तिकारी हुनै सक्दैन । मार्क्सवादको यो विज्ञानसम्मत कुरालाई एनेकपा (माओवादी)को व्यावहारिकरूपमै भएको स्खलनले प्रमाणित गरेर देखाएको छ र मार्क्सवाद कुनै रित्तो वैचारिक दमाहा नभई ठोस एवम् विज्ञानसम्मत रहेको कुरा पुनः पुष्टि भएको छ ।

हालै सम्पन्न एनेकपा (माओवादी) को केन्द्रीय समितिमा संशोधनवादको नयाँ संस्करण बोकेर आएका प्रचण्डलाई चुनौती दिने शक्ति तयार भएको देखिनु सकारात्मक कुरा हो । तर प्रचण्डलाई दिइएको चुनौतीका मुद्दाहरू भने धेरै आशलाग्दा छैनन् । त्यहाँ उठाइएका मुद्दाहरूमा युद्धकालमा गरिएको शक्तिको केन्द्रीकरणलाई विकेन्द्रित पार्ने कुराहरू देखिन्छन्, जसको दोहोरो अर्थ लाग्दछ । यसको अर्थ, एकातिर राज्यसत्ताबाट एनेकपा (माओवादी)ले पाउने हिस्सालाई एकलौटीरूपमा प्रचण्डको पोल्टामा पर्न नदिई दामासाही गरेर बाँड्ने हुन्छ भने अर्कोतिर पार्टीलाई संशोधनवादी भासमा फस्नबाट जोगाउन र क्रान्तिकारी दिशामा मोड्नको निम्ति जिम्मेवारी लिन खोजिएको पनि हुनसक्दछ । आशा गरौं, प्रचण्डइतर पक्षको उद्देश्य दोश्रो चाहिं होस् ।

निष्कर्ष

समग्र विश्लेषणबाट के देखिन्छ भने, नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादको नयाँ संस्करण लिएर प्रचण्ड नाङ्गोरूपमा उभिएका छन् । अब द्विविधामा रहनुपर्ने कुनै ठाउँ छैन । त्यस्तै, एनेकपा (माओवादी) भित्र क्रान्तिकारी भनिएको तप्काको विषयमा अन्तिम निष्कर्ष निकालिहाल्नु पनि हतारो हुनसक्दछ । माथि भनिएजस्तो विपक्षमा रहेका प्रचण्डइतर नेता र कार्यकर्ताहरू सत्ता साझेदारीको बाटोमा हिड्दछन् वा क्रान्तिकारी परिस्थितिको निर्माणमा अघि बढ्दछन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

निष्कर्षमा के मात्र भत्र सकिन्छ भने, प्रचण्डले अहिले जसरी सिङ्गो पार्टीपङ्क्तिलाई प्रतिक्रियावादीहरूका सामु बिस्कुन सुकाइदिएका छन्, यस्तो बेलामा विगतमा जनयुद्धले ग्रहण गरेकै उचाइ र स्तरको परिकल्पना गरेर अघि बढ्न खोज्नु दुस्साहस हुनेछ । एनेकपा (माओवादी) भित्रको संशोधनवादका प्रणेतालाई नेतृत्वबाट विस्थापित गरी क्रान्तिकारी परिस्थितिको निर्माणको लागि वि.सं.२०५० भन्दा अघिको अवस्थामा गएर काम थाल्नु नै क्रान्तिकारीहरूका लागि अबको सही क्रान्तिकारी कार्यदिशा हुन सक्दछ ।