माैसम चिसो थियो । प्रायः मान्छेलाई घाम प्यारो लाग्थ्यो । उनिहरु घाम नअस्ताए हुने भनेर शाेच्थे । तर प्रकृतिको नियम र समयलाई कसले परिवर्तन गर्न सक्थ्यो र । दिनभर न्यानो घाम तापेर मान्छेहरु समय कटाइरहेका थिए । त्यहि समय म पनि शहर तिर भाैँतारि रहेको थिए । जिन्दगीको गन्तव्य खाेज्दै हिँड्ने क्रममा शहर पुगेको पनि धेरै समय भएको थियो । पत्रिकामा काम गर्थें दिनहुँ खटिरहनु पर्ने । प्रायः फुर्सद नै नहुने । म चापागाउ बस्थे तर काम लगनखेलमा। यसै बिच दिनहुँ लगनखेल चापागाउ भईरहन्थ्याे । हरेक साँझ बसपार्कमा चापागाउ जाने मान्छेकाे भिड हुन्थ्यो । करिब डेढ बर्ष त्यहि भिडभाडकाे यात्रामा बितिसकेको थियो । कतिपय यात्रुहरु परिचित भईसकेका थिए । यात्रामा बेलुकी कलेज छुटेका हरु पनि हुने गर्थे ।
यसरी यात्रा अनवरत बढिरहेको थियो । एकदिन पत्रिकाको काम सकेर अलिक छिटो काेठामा फर्कने बिचार गरेँ । बसपार्क पुगेर माईक्रो चढेँ । खासै मान्छेहरु थिएनन् । एउटि कलेज ड्रेसमा आइ र म बसेकाे सिटमा बसि । स्लिम शरीर भएकि उसले हातमा समर लभ किताब बाेकेकि थिई । ओठमा हल्का लिप्स्टिक र चिम्सा आँखामा गाजल थिए । तर त्यो नानिमा काे थियो थाहा थिएन । कताकता देख्नेबित्तिकै मन कस्तो कस्तो भयो । हल्का मुस्कुराउँदै उसले मसँग माेबाईल मागि ।मैले पनि मुस्कान सहित माेबाईल दिएँ । हरेक केटाहरूकाे चाहना यात्राको क्रममा साइडमा सुन्दर युवती परे हुन्थ्यो भन्ने हुन्छ भन्ने सुनेको थिएँ तर ममा त्यो चाह त थिएन तर उसलाई देखे पछि मनमा भने काउकुति लागेको थियो । त्यो दिन भाग्यवश वा संयाेग सँगै सिटमा केटी परिन् । माेबाइल लिए पछि उसले एउटा नम्बर डायल गरि र उसको मातृभाषामा गफ गरि । त्यो दिन सिधै चापागाउ जाने बाटो बन्द थियो । उता हरिसिद्दि हुँदै जानुपर्ने अलिक घुमाउरो करिब ४५ मिनेटको बाटो घुमेर जाँदा डेढ घण्टा लाग्थ्यो । सायद उसले कसैलाई लिन आउन आग्रह गरेको हाेलि फाेनमा । जम्मा एक कल कुरा गरि र माेबाईल मलाई थमाएर धन्यवाद दिँदै उ त्यहीँ ओर्लि । उसले दिएको धन्यवाद मेरो लागि कुनै ठुलो पुरस्कार सरह हुन पुग्यो । यात्रा सुरु भएको नै थिएन एक्कासि अन्त्य भयो । मनले शाेचेका सारा सपनाहरु क्षण भरमा नै सिद्दिए । । खयर जे भए तापनि एउटा सुन्दरी सँग केहि मिनेट त बित्यो । यसमा नै मन बुझाउनु उत्तम थियो म जस्ताे केटाले । उसका हातमा भएको समर लभ मेरो पनि अति मनपर्ने उपन्यास हाे । भर्खरै सुविन भट्टराईले युवाहरूको प्रेम कहानी समेटेर लेखेको उपन्यास साह्रै चर्चामा थियो । सायद त्यसैले पनि हाेला धेरैले पढेको मैले देखेको थिएँ । यात्रा सँगै गर्ने रहर तुहिए पछि मनमा अर्को ईच्छा प्रकट भयो फेरि एकपटक भेट हाेस उसँग अनि खाेल्न पाइयाेस मनका कुराहरू ।
मनमा शब्दको बाढी आयो प्रश्नहरु मडारिए । यात्रा भरि उसको कल्पनामा डुबेँ थाहा छैन उ मलाई प्रेम गर्थि या गर्दिनँ थिई तथापि एक झल्को देख्दैमा म उ प्रति आकर्षित भईसकेकाे थिए । यसरी सपनाको संसारमा डुल्दाडुल्दै गन्तव्यमा पुगेको पत्तो नै भएन । काेठामा खाना बनाउन खासै मन नहुने हुँदा बसपार्ककाे छेउमा रहेको हाेटलमा खाना खाएर काेठामा गएँ । रातभर उसको कल्पनामा डुबेँ । बिहानि पख त भुसुक्कै निदाए छु । उठ्दा ९ बजिसकेकाे थियो । नुहाएर पुनः लागेँ उहीँ पुरानाे यात्रामा लगनखेल ।
यसरी लगनखेल चापागाउ यात्राको क्रममा धेरै सँग भेटघाट भयो । कतिपय सँग त नजर जुँधे तर मन भने केवल उसमा गएर बस्याे । थाहा थिएन उ कहाँ बस्छे ?? घर कहाँ हाे?? तर मनले भने उसलाई हरक्षण खाेजिरहेकाे हुन्थ्यो । हरेक दिन यात्रा सुरु गर्दा नजर लगाउँथे बसपार्क वरिपरि तर कहिल्यै उसलाई देखिन । सायद भगवानले केवल एक चाेटिका लागि मात्रै दर्शन दिलाएका हाेलान् ।तथापि मनलाई बुझाउन सकिन ।
एक दिन फेरि हाम्रो भेट त्यहि बसपार्कमा भयो । उ कलेज ड्रेसमा थिई । ओठमा हल्का लिप्स्टिक उस्तै थिए । आँखामा गाजल पनि उस्तै थिए तर हातमा समर लभ थिएन त्यो दिन । बाेलाउने हिक्मत आएन । सायद उसले पनि चिनिन । यात्रा एउटै माईक्रोमा भयो तर त्यो दिन हाम्रो बसाइ भने फरक सिटमा भयो । उ म भन्दा अघिल्लो सिटमा बसि । म उसलाई नियालेर बसेँ तर उसले त मलाई चिनिन ।सायद उसले त्यो दिन बिर्सेकि हाेलि । हुन त जिन्दगीमा धेरै सँग भेटघाट हुन्छ कसलाई मात्रै सम्झन सकिन्छ र । जाे खास बनेर हृदयमा धड्कन्छ उसलाई न सम्झने हाे । उ मेरो लागि खास थिई र पाे म सम्झँन्थेँ त ।तर म त उसको लागि खास मान्छे हैन हाेला त्यसैले याद गरिन । मनमा यस्तै कुरा खेलिरहे । माईक्रो प्याक थियो । दुई जना बस्ने सिटमा सहचालकले तिनजना काेच्थे । यात्रा गर्न असहज थियो । यो भएन भनेर बाेलाैँ त जान मन नभए ओर्लनुन भनेर रुखाे जवाफ दिन्थे । चुपचाप यात्रा गर्नु सिवाय अरु उपाय नै थिएन ।
यात्राको क्रममा कसैले उसको शरिरमा छसक्क छाएको देख्दा पनि मनमा जलन हुन्थ्यो । लाग्थ्यो एकान्तमा त्यो मान्छे भेटे त पड्काउने थिएँ ।याे त केवल मष्तिस्ककाे साेचाई मात्रै न हाे । मलाई उसको पक्षमा बाेल्ने न त अधिकार थियो न त कुनै आँट नै । यसरी मनमा कुरा खेलाउदै त्यो दिनको यात्रा पनि समाप्त भयो । गन्तव्य हाम्रो एउटै रहेछ । उ अगाडि सिटमा भएको हुँदा उ ओर्लेर कता लागि मलाई पत्तो नै भएन । नयनले त धेरै खाेजे उसको बाटो तर पत्ता भने लागेन । लाग्यो कि म एकाेहाेराे मायामा जलिरहेकाे छु ।
हरेक साँझ १ घण्टा म साइबरमा बिताउने गर्थें । माेबाईलमा नेट स्लाे हुने फेरि पैसा पनि उतिकै काट्ने हुँदा मज्जा बरु साइबरमा नै थियो । फसबुक तिर पनि धेरै नियालेर उसलाई खाेजेँ । नाम त थाहा थिएन तथापि अन्दाजी नाम हानेर सर्च गरेँ तर उसको फाेटाे भएको एकाउन्ट पत्ता लागेन । नाम थाहा भए पाे पत्ता लाग्नु क्या ! यसरी उसको यादमा म यति जलेँ कि म बेहाेसि सरह बनेँ । तर म जलेको कुरा उसलाई के था । न उसको अन्त प्रेम पाे छ कि कहिलेकाहीँ शंका लाग्थ्यो । हुन त अचेल प्रेम नगरेको मान्छे बिरलै भेटिन्छन् । प्रायः त प्रेमा धाेका खाएकाहरु नै भेटिन्छन् । हातमा समर लभ बाेकेकि अनि दुब्लो शरीर देख्दा लाग्थ्यो कि उ पनि म झैँ प्रेम पिडित नै हाे ।
नियमित साईबर बसाइकाे क्रममा एकदिन उसको र मेरो भेट भयो साईबरमा नै । संयाेगले हामी नजिकै परेछाैँ साईबरमा पनि । अरु पनि कम्प्युटर खालि थिए तर उ मेरो नजिकैकाेमा बसि । उ मलाई देखेर त्यहाँ बसेकि भने हैन । स्काईपमा कल गर्न आएकि रहिछे । तर शहर कि भए नि ईन्टरनेटकाे दुनियाँबाट टाढा रहिछन् । उसलाई अनुभव नै रहेनछ । फाेनमा कसैले छिटो अनलाइन आउन आग्रह गरेको मसिनो आवाज नजिकै भएको हुँदा मैले पनि सुने । उसले मुख बिगार्दै स्काईप खाेल्न लागि एकाउन्ट नभएको हुँदा खुल्ने कुरा नै भएन अनि मसँग गुहार मागि । फेरि पनि उसलाई अर्को सेवा गर्ने अवसर मिल्यो मन खुसिले गदगद भयो । एकाउन्ट खाेल्दा थाहा भयो कि उसको नाम युनिसा रहेछ । उसले एक जना केटालाई एड गरि र स्काईपमा गफ गरि । घरिघरि नेटमा समस्या हुँदा मै लाई गुहार्थि ताकि म त्यहि साइबरकाे साहु झैँ साेचेकि थिई कि । मुस्सुक्क हाँस्दै कहिलेकाहीँ म पट्टी हेर्दा त लाग्थ्यो उ पनि मलाई माया गर्छे तर याे सब म भ्रममा रहेछु । उसले स्काईमा गफ गरेको केटा उसको प्रेेमि रहेछ ।
उ त क्षितिज रहिछन् । जहाँ आकाश र धर्ती जाेडिएकाे देख्नु मेरो भुल रहेछ । त्यो दिन मन सम्हाल्न त गाह्राे भयो तर विकल्प अरु थिएन । यसरि बसपार्कबाट सुरु भएको प्रेम साईबरमा पुगेर अन्त भयो । उसको हातमा भएको समर लभ भन्दा मेरो हृदयमा भएको विन्टर लभ बढाे गजबको थियो तर उसले पढ्न पाईन याे विन्टर लभकाे कथा । बाहिरी माैसम चिसो भए पनि उसको यादमा हराउदा मनमा न्यानो भएको थियो । तर त्यो सब विन्टरकाे शीत झै विलिन भए केही क्षणमा नै घामका किरणहरुले गर्दा ।
दिपेन्द्र परिवर्तित
माल्टा ललितपुर
No comments:
Post a Comment