Translate

Thursday, 13 November 2014

अमरले मलाई बिटुल्याएर छाेडे

देवघाटमा बसेका बाल विधवाको संवेदनामा अमर न्यौपानेले सेतो धर्ती लेखे । सेतो धर्तीलाई मदन पुरस्कार गुठीले पुरस्कृत पनि गयो । सेतो धर्ती पढेर आँशु खसाल्ने धेरै थिए, तर चितवनकी (सरु) सरस्वती न्यौपाने (भण्डारी) पुस्तक पढिसकेपछि धित मरुन्जेल हाँसिन् । सुरुमा त उनी रोएकी थिइन्, तर वास्ताविकता र भ्रम चिन्न नसक्ने यो समाज देखेपछि उनी मज्जाले हाँसेकी हुन् । श्रीमतीको हृदयमा भकुण्डो खेलेर बालविधवाको संवेदनामा लेखिएको पुस्तक पढेर मान्छेहरू आँशु झार्छन्, पुरस्कृत गर्छन् भने योभन्दा अर्को विडम्बना के हुन सक्छ ? सरु प्रतिप्रश्न गर्छिन् । सरस्वती आफूलाई अमरकी श्रीमती भनेर दाबी गर्छिन् । जवानीको स्वाद चाखेर मलाई उखुको खोस्टाझै सडकमा मिल्काए, सरुले भनिन्– ‘मैलेजस्तो अपमान कुनै नारीले भोग्न नपरोस् ।’

० व्यवसाय सुरु गर्न के कुराले प्रेरित ग-यो ?

– पहिलो कुरो त आत्मनिर्भर बन्नका लागि हो । घर र श्रीमान्ले अपहेलना गरेपछि केही गर्नुपर्छ भन्ने आत्मविश्वासका साथ हामीले पोल्ट्री व्यवसाय सुरु गरेका हौं । पहिलो फेजमा दुई÷चार हजार कुखुराबाट सुरु गरेका हौं, हेरौं कस्तो नतिजा आउँछ ?
० कति लगानी गर्नुभएको छ ?
– अहिलेसम्म ६ लाख लगानी भइसक्यो । जग्गासमेत हामीले भाडामा लिएर व्यवसाय सुरु गरेका छौं । एकजना सहयोगी राखेर हामी आफंै खटेका छौं ।
० बैंकले लगानी गरिदियो ?
– आफूसँग भएको गरगहना बैंकमा धितो राखेका छौं । पुग–नपुग साथीभाइसँग सरसापटीले चलाएका छौं ।
० पेवापात थियो होला नि ?
– सुको बचत थिएन, विवाह गरेपछि घरमा अपहेलित भइयो । श्रीमान्ले बेवास्ता गरे, यस्तो अवस्थामा पेवापात हुर्काउने बढाउने कुरा सम्भव हुँदो रहेनछ ।
० के गर्नुहुन्छ श्रीमान् ?
– साहित्यकार हुनुहुन्छ, उहाँ देशको जानेमाने साहित्यिक सेलिबे्रटीमा गनिनु हुन्छ होला । उहाँको नाम अमर न्यौपाने हो । नारी संवेदनाका किताब लेखेर चर्चित हुनुहुन्छ, उहाँ किताब लेखेर जति चर्चित हुनुहुन्छ, व्यवहारमा त्यो मेल खाँदैन ।
० कहिले विवाह भएको हो ?
– ११ वर्ष भयो । २०६० माघ १८ गते पार्वतीपुरमा मन्दिरमा विवाह भएको हो ।
० किन मन्दिरमा विवाह गर्नुभयो ?
– त्यो बेलाको परिस्थिति त्यस्तै थियो । विवाहअघि मैले गर्न नहुने गल्ती गरेकाले मन्दिरमा विवाह गर्नुप¥यो । त्यसबेला म प्लस–टुमा पढ्थें । त्यसबेला कलेजका साथीहरू श्रीराम सापकोटा, जनक जोशी र रेखा लम्साल साक्षी छन् ।
० के त्यस्तो गल्ती गर्नुभयो ?
– सम्हाल्नुपर्ने उमेर थियो, अमरको मीठो बोली र व्यवहारले मैले जवानी सम्हाल्न सकिनँ । अमरले मेरो बैंशमा खेल्ने काम ग¥यो । चार वर्षसम्म यो क्रम चलिरह्यो । विस्तारै हाम्रो नासो मेरो पेटमा चलमलाउन थाल्यो । नारायणगढको मेरीस्टोपमा गएर हुर्किंदै गरेको नासोको पनि गला निमोठियो । यस्ता गल्ती मैले गर्नुहुँदैन थियो, मलाई पछुतो छ ।
० अमरको लोकप्रियतामा लोभिएर यी कुरा भन्नुभएको होला ?
– उसको लोकप्रियतामा लोभिएर मैले यी आरोप लगाएको हो भने यो मेरी श्रीमती होइन भन्न चुनौती दिन्छु । वास्तविकता तीतो हुँदो रहेछ, सञ्चारमाध्यममा अमर हाई हाई छ, म दिनरात रोएर बसेकी छु, मेरो पीडा कसले सुन्छ ? यहाँ बोलवालाकै राज हुँदो रहेछ ।
० कहिले चिनजान भएको ?
– हामी छिमेकी हौं, मभन्दा ऊ सिनियर हो । छिमेकीको नाताले आउनेजाने हुनु स्वाभाविक थियो । मीठो बोल्ने र आकर्षित गर्ने क्षमता थियो ऊसँग । विस्तारै हामी पे्रम गर्न कस्सियौं ।
० प्रेममा के भयो ?
– एक अर्कालाई टाढा देख्न चाहँदैन थियौं । रातविरात भेट गथ्र्यौं, कलेजबाट बिदा भएपछि घुम्न जाने मात्र होइन, बढी मात्रामा एकान्त खोज्थ्यौं । घरमा कोही नभएको मौकाको खोजीमा हुन्थ्यौं ।
० के भनेर फकाउनु हुन्थ्यो ?
– १५,१६ की थिएँ, राम्रो नराम्रो छुट्टाउन सक्ने अवस्था मसँग भएन । उसका कुरामा म लठ्ठै थिएँ, माया गरेजस्तो लाग्यो, शरीर सुम्पिदिएँ, यस्तैमा २०५६ वैशाख महिनातिर होला हामीबीच पहिलो पटक शारीरिक सम्पर्क भयो । त्यसपछि विस्तारै बानी परियो, शारीरिक सम्पर्क सामान्य बन्दै गयो ।
० विवाह गरौं भन्नुभएन ?
– उमेर छ, भविष्य बनाऔं भन्नुभयो, मेरो जवानीसँग ऊ निसंकोच खेलिरह्यो, जब मेरो महिनावारी रोकियो, तब गर्भपतन नगराइञ्जेलसम्म मलाई साथ दियो, त्यसपछि टाढिन थाल्यो, अहिले पनि ऊ टाढै छ ।
० यस्तो अवस्थामा विवाह कसरी सम्भव भयो ?
– जवानीको जोशमा हामीले समाज नदेखे पनि समाजले हाम्रो गतिविधि नियालेको रहेछ । नारीको इज्जतमा खेलवाड गरेर उसलाई भाग्न दिएन, समाजले नै हाम्रो विवाह गराइदियो ।
० विवाहपछि ?
– मलाई घरमा थन्काएर ऊ हिँड्यो काठमाडौं । एक्लो छोरो हो, ऊ । काठमाडौंमा दिदीको घरमा बस्न थाल्यो, म चितवनकै घरमा बसें । घरमा मलाई बोलाइँदैन थियो । घरमा खान चाहिँ दिन्थे, बाँकी आफ्नो मर्जी थियो । साथ पाउँछु कि भनेर दस वर्षसम्म पर्खें, नपाएपछि यस वर्षदेखि आफ्नै व्यवसाय सुरु गरेकी हुँ ।
० यस अवधिमा एकपटक पनि भेट भएन ?
– भेट त भयो, तर राम्ररी कुराकानी हुन पाएको छैन । एकपटक उसलाई भेट्न काठमाडौं गएँ, साँझ परेपछि भीडभाडमा छोडेर ऊ भाग्यो । त्यसपछि भदौ ३ गते कृष्णअष्टमीमा भेट भएको थियो । २÷३ घन्टा कुरा भयो, डिभोर्सको प्रस्ताव लिएर आएको रहेछ ।
० तपाईंले के भन्नुभयो ?
– रूपमा तपाईंले खोजेजस्तो राम्री छैन होला, तर मेरा कमीकमजोरी के छन् भनेर सोधें ? चुपचाप लागेर ऊ फर्कियो । यसपालिको दसैंमा भेट होला कि जस्तो लागेको थियो, भएन ।
० कस्तो अनुभव भयो ?
– जिन्दगीमा कसैको युज एन्ड थ्रो भइएछ । तर, निरास छैन, आशावादी भएर इमान्दार र अनुशासित रूपमा बसेकी छु । एकदिन कसो न्याय नपाइएला ?
० अवहेलना सहेर किन बस्नुहुन्छ ?
– रूपवती श्रीमती चाहिएको हो भने अर्को विवाह गर्नुहोस् भनिसकेको छु । डिभोर्स गर्न मेरा कमजोरी पनि त खुट्याउनुप¥यो । म पनि मान्छे हुँ, मेरो पनि नारी हृदय छ । मैले पनि चित्तबुझ्दो जवाफ पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
० अमरका पुस्तक पढ्नु भएको छ ?
– सेतो धर्ती र पानीको घाम पढेकी छु । सेतो धर्ती एकै रातमा पढेर सिध्याएँ, त्यसपछि रोएँ ।
० किन नि ?
– ‘एउटी महिलाका लागि श्रीमान् संरक्षक हुन्’ भन्ने वाक्यले मेरो मनमा भक्कानो फुटेर आयो, आँखाबाट धरधरी आशुँ बगे ।
० पुस्तक पढिसकेपछि ?
– नारी हृदयको सूक्ष्म विश्लेषण गर्ने अमर न्यौपाने वास्तवमा आडम्बरी र यथार्थलाई लुकाएर दुनियाँमा भ्रम बाँड्न सक्ने क्षमता भएको मान्छे रहेछ जस्तो लाग्यो ।
० हो त ?
– सत्य लुकाउन सकिँदैन, उसको प्रगतिमा बाधा पुग्छ भनेर अहिलेसम्म चुप लागेर बसेकी छु । सहनुको पनि हद हुन्छ, यो हदले सीमा नाघ्न लागिसक्यो ।
० यस्तालाई के सजाय दिनुपर्छ ?
– यो जुनीमा म सजाय तोक्न सक्दिनँ होला, तर जे गर्छन् भगवानले गर्छन्, उहाँकै शरणमा परेर बसेकी छु । जसरी देवघाटमा ‘सेतो धर्ती’ की तारा बसेकी छन् ।

नेपाल ब्रिटेन अनलाइनको सहयोगमा ।

No comments:

Post a Comment