Translate

Saturday, 20 December 2014

यस्तो म्यासेज आए राम्रोसँग पढेर मात्र डिलिट गर्नुहाेला 


सुरेन्द्र पाैडेल नागरिक दैनिक
काठमाडौं-तपार्इंको मोबाइलमा ‘६००१' नम्बरबाट एसएमएस आएको छ? आएको भए राम्रोसँग पढेर मात्र मेट्नु (डिलिट) होला। किनकि, परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले तपार्इंलाई जरुरी सूचना पठाएको हुन सक्छ।

राहदानी विभागले यसै सातादेखि राहदानीका लागि बुझाइएको फारम बिग्रिए सम्बन्धित व्यक्तिलाई एसएमएसमार्फत जानकारी गराउन थालेको छ। बिग्रेको फारम सच्याउन आउँदा सहज होस् भनेर विभागले एसएमएसमा फारम भर्दा के बिग्रेको हो, त्यो पनि खुलाउने गरेको छ।
राहदानी सेवालाई अझ बढी जनउत्तरदायी बनाउन सेवाग्राहीलाई यस्तो सुविधा उपलब्ध गराउन थालेको विभागले जनाएको छ। ‘राहदानीका लागि सेवाग्राहीले बुझाएको फारममा कुनै गल्ती भएको भए तुरुन्त एसएमएस पठाई जानकारी गराउन थालेका छौं,' राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले नागरिकसँग भने, ‘फारम पूरै बिग्रेको वा हस्ताक्षर गरेको वा फोटो मात्र नमिलेको हो, स्पष्ट खुलाएर एसएमएस पठाउँछौं।'
नेपालभर एसएमएस सुविधा उपलब्ध गराउन विभागले ६००१ नम्बर लिएको छ। द्रुत सेवाअन्तर्गत सीधै काठमाडौंस्थित विभागको कार्यालयमा बुझाइएका वा जिल्ला प्रशासन कार्यालयमार्फत आएका फारम बिग्रेको थाहा पाएकै दिन विभागले ६००१ नम्बरबाट सम्बन्धित व्यक्तिलाई एसएमएस पठाएर जानकारी दिने गरेको छ।
विभागले शुक्रबार दाङका ४६ र मोरङका ८९ गरी १ सय ३५ जनालाई एसएमएस पठाई फारम बिग्रेको जानकारी दिएको छ भने मंगलबार धादिङका २३ र बाँकेका ९८ गरी १ सय २१ जनालाई एसएमएस पठाई सोही जानकारी दिँदै सच्याउनका लागि आउन आग्रह गरेको थियो। यस्तै, सोमबार रौतहटका ३४ र भक्तपुरका ३७ जनालाई यस्तो एसएमएस पठाइएको थियो।
यसअघि जिल्ला सदरमुकामबाट राहदानीका लागि फारम भरी पठाउने सेवाग्राहीले आफ्नो फारम बिग्रेको थाहा पाउन कम्तीमा साढे दुई महिना कुर्नुपर्थ्यो। जिल्लाले १५ तथा महिना दिनमा एकपटक फारम विभाग पठाउने गर्छ। फारम बिग्रेको रहेनछ भने पनि राहदानी बनेर आउन एकदेखि डेढ महिना लाग्छ। त्यसपछि मात्र आफ्नो राहदानी किन नआएको हो भनेर बुझ्दा फारम बिग्रेको थाहा हुन्थ्यो। त्यसपछि सच्याउन काठमाडौं आउनुपर्थ्यो। अब भने जिल्लामा फारम बुझाएको १५ दिनभित्रै बिग्रेको थाहा पाइनेछ। सच्याउनका लागि पनि काठमाडौं आइरहनुपर्दैन। यसले सेवाग्राहीको खर्च र समय दुवै वचत गर्ने विभागले लिएको छ।
‘हामीले एसएमएसमा जिल्लामा फारम बुझाउनेलाई जिल्ला प्रशासन कार्यालय र विभागमा फारम बुझाउनेलाई विभागमा सच्याउनका लागि सम्पर्क गर्न भन्ने गरेका छौं,' महानिर्देशक थापाले भने। विदेशस्थित नेपाली मिसनमार्फत आएका फारम बिग्रिए त्यहाँ रहेका सम्बन्धित सेवाग्राहीलाई विभागले आफ्नो वेबसाइट डिओपिएमओएफए डट जिओभी डट एनपी मार्फत जानकारी गराउन थालेको छ। यो सुविधा नेपालभित्रबाट फारम बुझाउनेले पनि पाउने छन्। देशबाहिर रहेका मिसन र देशभित्रैबाट प्राप्त राहदानी फारममध्ये कुन कुन बिग्रिएका छन् त्यसको जानकारी वेबसाइटमा राख्न सुरु गरिएको छ।
सेवाग्राहीले सीधै वेबसाइटमा गई मेन्यु बारमा रहेको ‘एमआरपी स्टाटस' मा क्लिक गरी आफ्नो फारम बिग्रे/नबिग्रेको जानकारी प्राप्त गर्न सक्नेछन्। त्यहाँ मिसन र जिल्लाबाट आएका बिग्रेका राहदानी फारमको विवरण छुट्टाछुट्टै राखिएको छ। विभागले वेबसाइटमा २०७१ भदौ १५ गतेयताका बिग्रिएका राहदानी फारमको विवरण राखेको छ।
विभागले विवरण दिनहुँ अद्यावधिक गर्दै आएको छ। यसअघि विदेशमा रहेकाले बुझाएको ४–५ महिनापछि मात्र आफ्नो फारम बिग्रिको थाहा पाउँथे। वेबसाइटमा विवरण राख्ने व्यवस्था गरेयता विदेशमा रहेका सेवाग्राहीले फारम बुझाएको महिना दिनभित्रै फारम बिग्रेको थाहा पाउन थालेका छन्।
‘विदेशमा रहेका नेपालीलाई पनि समस्या नहोस् र छिटो राहदानी पाऊन् भनेर वेबसाइटमा बिग्रेका राहदानीको विवरण राख्न थालेका हौं,' महानिर्देशक थापाले भने। सामाजिक सञ्जालप्रति बढ्दो क्रेजलाई समेत बुझेर विभागले फेसबुकमा पेज बनाई बिग्रेका राहदानीको विवरण तथा राहदानीसम्बन्धी अन्य जानकारी अपडेट गर्न थालेको छ। यसका लागि विभागको ‘डिपार्टमेन्ट अफ पासपोर्ट, नेपाल' नामक फेसबुक पेज छ। सेवाग्राहीले फेसबुक पेजमार्फत पनि आफ्नो फारम बिग्रे वा नबिग्रेको जानकारी पाउन सक्नेछन्। विभागले बिहीबार मात्रै आफ्नो फेसबुक पेज र वेबसाइटमा साउदी अरब, कतार, मलेसिया र कुवेतबाट प्राप्त भएका, तर बिग्रेका ६३ वटा फारमको विवरण राखेको छ।

No comments:

Post a Comment