२०७१-८-१५ कान्तिपुर दैनिकबाट साभार
akhanda-bhandari(अखण्ड भण्डारी )
एकादेशमा एउटा १७ वर्षे ठिटो रहेछ। बहुत सुन्दर र आकर्षक। लोभलाग्दो व्यक्तित्व। देख्दै सबै लट्ठिने। एकदिन उसको मोबाइलमा अपरिचित नम्बरबाट एसएमएस आएछ, 'आई लभ यु।'
'तपाईं को?' उसले सम्मानपूर्वक रिप्लाइ गरेछ।
'तिम्री प्रेमिका', तत्काल उत्तर आएछ।
जसको कसैसँग प्रेम छैन, को होला सिधै 'प्रेमिका' भन्ने? ऊ झस्कियो। सोच्यो, कुनै केटाले जिस्क्याएको हुनुपर्छ। शंका निवारण गर्न फोन गर्यो।
'हेलो', उताबाट युवती स्वर आयो।
'को बोल्नुभयो?' उसले सोध्यो।
'तिम्री प्रेमिका', उत्तर त्यही थियो।
उसको सातो गयो। 'होस त ठीकमा छ?' ऊ झ्वाँक्कियो।
'बहुत ठीकमा छ', उसले नम्र उत्तर दिई।
'त्यसो भए गलत नम्बर पर्यो', उसले भन्यो।
'बहुत ठीक नम्बरमा पर्यो', उसले भनी, 'गलत भन्ने लाग्छ भने जाँच्न भोलि साँझ ५ बजे बानेश्वर चौकमा आऊ।'
सोच्यो, के फरक पर्ला र? भन्यो, 'ओके।'
ललल
चिनेको, देखेको होइन। तर पहिलो भेटमै उसलाई ऊ आफ्नै प्रेमिकाजस्तै लागी। ऊ मिस नेपालभन्दा कम राम्री थिइन। किन हो किन उसको मन बहकियो। प्रेम नामको वस्तुले उसको मुटुमै बास बस्यो। छुट्टनिे बेला भनिदियो, 'आई लभ यु टु।'
उनीहरूको प्रेम झाँगिँदै गयो। महिना बित्यो, वर्ष बित्यो। हुँदाहुँदै सात वर्ष बित्यो। ऊ २४ वर्षको भयो। बीच-बीचमा सोध्थ्यो पनि, 'अब बिहे गर्ने होइन?'
'पख न,' ऊ टार्दै जान्थी, 'बेला भएकै छैन।'
ऊ हतारियो। सधैं लभ गरेर हिँड्दा समाजको डर लाग्न थाल्यो। अरूले कुरा काट्न थाले। वैरीहरूले त यिनीहरूको बिहे नै हुँदैन भन्नै थाले। त्यस्तो सुन्दा उसको मन चसक्क गथ्र्यो।
'अब त बिहे गर्ने होइन?' उसले साविककै प्रश्न दोहोर्यायो।
'गर्ने', उसले भनी, 'तर त्यसभन्दा पहिला तिमीले एउटा काम गर्नुपर्छ।'
'के?' उत्सुकतापूर्वक उसले सोध्यो।
'तिम्रो घर ठूलो छ। परिवारमा घञ्चमञ्च छ। माहुरीको गोलोजस्तो ठाउँमा म बस्न सक्दिनँ। घर फुटाऊ, परिवार भिन्न बनाऊ', उसले भनी, 'अनिमात्र म बिहे गर्छु। मलाई बरु सम्पत्ति चाहिन्न। भीडमा बस्न सक्दिनँ।'
'कुरा ठिकै गर्यौ', प्रेमिकाका औंला खेलाउँदै उसले भन्यो, 'तिम्रा लागि म त्यति गर्न कसो नसकुँला र?'
'मलाई त विश्वास छैन', उसले उचाली, 'मैले भनेका काम तिमीले धेरै गरेका छैनौ। यसमा बुवा-आमा, काका-काकी, ठूला बुवा-आमा, दाजु-भाउजू, भाइ-बुहारी, बहिनी सबैले मान्नुपर्छ। तिमीजस्तो हुतिहाराले कसरी सकौला यत्रो काम गर्न?'
'विश्वास गर नानु', कपाल सुमसुम्याइदिँदै उसले फकायो, 'म त्यति काँतर छैन।'
'पत्याउँला', अलि पर सरेर मुख लेप्य्राउँदै उसले भनी, 'पहिला काम गरेर देखाऊ, अनि पत्याउँला।'
'अवश्य', उसले भन्यो, 'तिमीले पत्याउने दिन भोलि नै आउँछ।'
'हेर्छु म पनि', चुनौती दिँदै उसले भनी, 'तिम्रो तागत नदेखेको हो र?'
ललल
घर टुक्य्राउनेमा परिवारका सबैजसोको सहमति जुट्यो। बुवाले भन्यो, 'पूर्व-पश्चिम टुक्रा बनाऊँ। काकाले भन्यो, 'उत्तर-दक्षिण गरौं।' काकीको प्रस्ताव आयो, 'नरम-करम मिलाउ“m।' कुरा मिलेन, सबै तितरबितर। उसले फेरि जुटायो। फेरि उस्तै। अहँ, पार लाएन। हरेस खाँदै गयो। दिक्क मान्दै गयो।
'मलाई तिमी चाहिएको छ, तिमीलाई म', विफल खेलाडीझैँ भएर पुगेको उसले बिन्ती गर्यो, 'किन तिमी जिद्दी गरिरहन्छ्यौ? बरु घर छाडौं, बाहिरै बसौं।'
उसले मुन्टो निहुर्याइरही।
'म तिमीबिना अब बाँच्नै सक्दिनँ,' गोजीबाट चक्कु निकालेर आफ्नै घाँटीतिर सोझ्याउँदै उसले भन्यो, 'भन, अब पनि मसँग बिहे गर्दिनौ भने तिम्रै अगाडि सेरिएर मर्छु।'
उसले मुन्टो उठाई। चार आँखा जुधे। चारै आँखा आँसुले टिलपिल थिए। चारैवटा गालामा ठाडा धर्सा थिए। उँधो जमिनमा थोपा तपतप गरिरहेका थिए।
'भन सानु', आँसु पुछ्दै उसले कठोर प्रश्न सोध्यो, 'तिम्रो अरू कुनै ब्वाइप|mेन्ड छ? छ भने भन, प्रेमको सम्मानस्वरूप म हाँसी-हाँसी तिमीहरूको हात मिलाइदिन्छु।'
'पापी, अपराधी', ऊ आवेशमा आई, 'के भनेको तिमीले यो? कुन मुखले बोलेको? अरू कोही भए म तिमीसँग वर्षौंदेखि किन लठारिएर हिँड्थेँ? परिवार, समाज र देशका लागि किन रमिता हुन्थेंँ? मलाई यस्तो प्रश्न सोध्न अलिकति लाज लगेन तिमीलाई?'
'माफ गर नानु', आँसु पुछिदिन उसले हात बढायो। उसले झड्कारेर पर पुर्याइदिई।
उसलाई भाउन्न भयो। जमिन भासिएझैँ लाग्यो। जमिनसँगै आफैँ भासिएझैं अनुभूत भयो। डाँको छोडेर रोई। धेरै बेर रोई। ऊ किंकर्तव्यविमूढ भई चुपचाप उभिइरह्यो। गल्ती भएको ठान्यो। सच्याउने ठावैँ देखेन। सम्झाउन मुख खोल्नै सकेन।
'मर', धित मरुन्जेल रोएपछि जुरुक्क उठेर अघि बढ्दै उसले भनी, 'तिमीजस्तो लाछीले मरेकै जाती। चक्कुले सेरिएर के मर्छौ? डाडुमा पानी तताऊ, डुबुल्की मारेर मर।'
उसले च्याप्प हात समातेर रोक्यो। झुकेर गोडामा छोयो। दुई हात जोडेर घुँडा टेक्यो।
'हाम्रो बिहे गराउन सकेनन् भने तिम्रा अभिभावकको बेइज्जती हुन्छ। हाम्रो नाम जोडेर सर्वत्र चर्चा भइसक्यो। भित्ता-भित्तामा लेखिइसक्यो। हामीलाई
छुट्याउँदा तिमी मर्छौ भन्ने सारालाई थाहा भइसक्यो', उसले भनी, 'त्यसैले सक्दो प्रयास गर। वातावरण बनाइहाल।'
'प्रयास गरिरहेकै छु', उसले भन्यो, 'कहिले बुवा नमान्ने, कहिले काका, कहिले ठूलोबुवा, कहिले को...।'
'बाँच्ने भए मनाऊ !' अन्तिम निर्णय सुनाउँदै ऊ हिँडी, 'नत्र आआफ्नो बाटो लागौं।'
ललल
तपाईंहरूलाई कौतूहल लाग्यो होला- को हुन् ती प्रेमी-प्रेमिका। ठिकै छ, खोलिदिन्छु। प्रेमी हो- संविधान। प्रेमिका- सहमति।