Translate

Sunday, 24 May 2015

म भाग्य लेख्दै थिएँ या प्रेमपत्र

एसएलसी दिए लगत्तै केही साथीहरू ब्रिज काेर्स पढ्ने भन्दै शहर छिरे । म भने गरिबी र पारिवारिक समस्याले शहर छिर्न पाईन । एसएलसी पछिको तीन महिना प्रायः रेडियो सुनेर नै बित्यो । रेडियोमा मनाेरञ्जनात्मक कार्यक्रम बढी सुन्ने गर्थें । बिशेष गरि प्रेम र युवा वर्गमा लक्षित गरेर तयार गरिएको कार्यक्रम मेरो राेजाईमा पर्ने गर्थ्याे । म लाेकगित बढी मनपराउने मान्छ लाेकगितका कार्यक्रम त नछुटाई सुन्ने गर्थें । यसका साथै रेडियो नेपालबाट हरेक शनिबार ३:३० देखि ४:३० सम्म आउने साथि सँग मनका कुरा त झन नछुटाई सुन्थेँ । त्यो समय गाउँमा बिद्युत पुगेको थिएन त्यसैले टिभी हेर्ने कुरा नै भएन । सञ्चारकाे सेवामा हल्का एकदुई जनाले स्काई चल्ने माेबाईल बाेकेका थिए । अरुकाे त टावर नै नदिने क्या गाउँमा । मैले एसएलसी दिनु भन्दा केही महिना अघि बुबाले सिडिएमए माेबाईल किन्नु भएको थियो त्यो पनि बुबाको लागि । गाउँमा थाेरैले मात्रै माेबाईल बाेक्थे । ईण्डिकमकाे साधारण स्काई चल्ने सेट बाेक्ने मान्छे त्यो जमानामा आफुलाई हिराे ठान्थे छाति फुलाएर हिन्थे । यसाे बाटोमा हिँड्दा मान्छे देखियाे भने गाेजिबाट माेबाईल झिकेर थिच्ने चलन थियो त्यो बेला । सायद मैले माेबाईल बाेकेकाे छु भनेर देखाउन हाेला । बुबासँग भएको त्यो माेबाईल छुन मात्रै पाए पनि म आफुलाई भाग्यमानी ठान्थेँ त्यो समयमा । कहिलेकाहीँ बुढाले चार्जमा हालेको बेला छुसुक्क छुन पाईन्थ्याे नत्र माेबाईलकाे मुख देख्न पाईने हैन । काेहि कसैले फाेन गरेको समयमा मेरो बाेलि सुन्ने चाहना गरे भने मात्रै माेबाईलमा बाेल्न पाईन्थ्याे । कहिलेकाहीँ बाेल भनेर माेबाईल दिन्थे त्यतिबेला मुटुकाे धड्कन बेजोडले चल्थ्याे र शरीर काम्थ्याे । त्यतिबेला म महशुस गर्थें कि ममा माेबाईलमा बाेल्न सक्ने सामर्थ्य छैन । बल्लतल्ल कनि कुस्ती दुईचार शब्द बाेल्याे त्यसपछि के बाेल्ने शाेच्न सक्ने हैन । यसै बिच एकदिन बुबाले माेबाईल चार्जमा राखेर हिँड्नु भएछ । त्यहि समयमा नयाँ नम्बरबाट फाेन आयो । शरीर कामेर उठाउने हिक्मत भने आएन । बुढालाइ बाेलाउन जाउँ भने कहाँ जानू । अन्ततः हिक्मत गरेर फाेन उठाएँ । उताबाट हेलाे भनेको मसिनो स्वर आयो स्वर केटी मान्छेकाे थियो । म झन डराए अनि काम्दै जसाेतसाे हेलाे भनेँ । उसले साेधि काे बाेल्नु भयो ? मैले उत्तर दिएँ दिपेन्द्र । उसले तत्काल साेधि के छ खबर ? मैले उत्तर दिएँ ठिकै छ अनि तपाईंको के छ अनि काे बाेल्नु भयो नि ? प्रतिप्रश्न गरेँ । मैले यत्ति मात्रै के भनेको थिएँ माेरि त मज्जाले हाँसि । सायद उसलाई मज्जा लाग्यो हाेला मैले नचिनेकोमा । त्यसपछि उसले आफ्नो परिचय दिँदै भनी "म पुर्णिमा " । पुर्णिमा!! म आश्चर्यचकित हुँदै भनेँ । उसले हाे भनी । पुर्णिमा मेरो स्कुले साथी थिई । उ पनि एसएलसी दिएर घरमै बसेकि रहिछे । अनि मैले प्रश्न गरेँ याे नम्बर कसरी पायाै नि ?
उसले भनी " तिम्रो भाईसँग मागेको थिएँ एसएलसी दिन जानु भन्दा पहिले"।
उ स्कुल पढ्दा मेरो घर छेउमा काेठा लिएर बसेकि थिई । तर उसको र मेरो बाेलचाल भने कक्षा भन्दा बाहिर कहिल्यै भएन । कहिलेकाहीँ स्कुल जाँदा बाटोमा सँगै भईन्थ्याे उ जिस्काउँथि मलाई लाज लाग्थ्यो । त्यसैले बाेल्ने हिक्मत नै गर्दिनँ थिएँ । उ कक्षामा अलिक कमजोर विद्यार्थी भित्र पर्थि म भने जान्नेकाे दर्जामा पर्थेँ । कहिलेकाहीँ नआएको हिसाबहरु साेध्ने गर्थि म उसलाई सिकाउने गर्थें । त्यो बेला खुसि लाग्थ्यो । झन उसैले फाेन गर्दा त खुसिकाे सिमा नै रहेन । हाम्रो करिब १० मिनेट कुराकानी भयो । उसले पनि बुबाको माेबाईलबाट फाेन गरेकि रहिछे । दुबै जना डराएर बाेलिरहेका थियौं तर गफमा भुल्दा  डर हराएको थियाे । उसले फाेन राख्ने अनुमति मागि मैले हुन्छ भनेँ उसले फेरि पछि गर्छु भन्दै फाेन राखि ।
त्यहि दिन हाे मैले सबैभन्दा धेरै समय फाेनमा बाेलेकाे । त्यो दिन लामाे समय माेबाईलमा बाेल्न पाउँदा खुसि थिएँ साथै झन लामाे समय पछि सँगै पढेको साथिसँग गफ गर्न पाउनुले पनि झन खुसि थप्याे । उसले फेरि पाँच दिन पछि फाेन गरि त्यो समय पनि बुबाको माेबाईल मेरो हातमा थियो । करिब ५ मिनेट कुराकानी भयो । बाेलिरहुँ झैँ लाग्थ्यो तर बाेल्दानि पैसा लाग्थ्यो  । प्रति मिनेट २ रुपैयाँ काट्ने । यसरी क्रमशः हरेक ५/५ दिनमा फाेनमा कुराकानी हुन्थ्यो । जुन बेला उसले फाेन गर्थि त्यो बेला माेबाईल मेरो हातमा हुन्थ्यो । सायद भगवानले जुराएका हाेलान म यस्तो शाेच्थेँ ।
बुढाले केटिसँग बाेलेकाे चाल पाए भने त उठिबास लगाउँथे त्यसैले ढाेका थुनेर मसिनो स्वरमा गफ गर्ने गर्थें । यसरी बिस्तारै हाम्रो सम्बन्ध घनिष्ट हुँदै गयाे । त्यसपछि कहिले मैले फाेन गर्थें त कहिले उसले गर्थि तर जसले गरे पनि माबाईल हाम्रो हातमा हुन्थ्यो । सायद भगवानले हाम्रो चाहना बुझेका हाेलान त्यो समयमा । यसरी फाेन हुँदै २ महिना बित्यो । असारको सुरुवात सँगै उसले फाेन गर्न छाेडि ।मेरो पनि हातमा माेबाईल परेन । माग्ने हिक्मत थिएन । मनले हरेक पल उसको सम्झना गर्न थाल्यो । स्मृतिमा उसका अनुहारहरु घुम्न थाले । अनि स्कुले जिवनका यादहरु सलबलाउन थाले । यसै बिच एसएलसीकाे रिजल्ट भयो म प्रथम श्रेणीमा पास भएँ ।तर उसलाई गणित लागेछ । यस बिचमा हाम्रो सम्पर्क भने भएन । त्यो समयमा उ टिउसन पढ्न गएको भन्ने खबर सुनेको थिएँ ।
त्यहि सालबाट गाउँमा +2 आएको थियो । गाउँमा पढ्ने निधाे गरेर ड्रेस हालियाे किताब किनियाे । भदौ लागे सँगै कलेज सुरु भयो । उ पनि पुरक दिएर + 2 पढ्न आई । उ र म आउने जाने बाटो लगभग एउटै थियो । हुन त अर्को बाटो नि  थियो तर हाम्रो चाहना सँगै हिँड्ने भएको हुँदा त्यतातिर ध्यान दिईएन । त्यसपछि बिस्तारै सँगै हिँड्न थालियो तर माया बसिसकेको थिएन भर्खरै अंकुरण हुन लागेको मात्रै थियो । उ पनि मलाई माया गर्थि म पनि उसलाई गर्थें तर भन्ने हिक्मत दुबैकाे आएन ।
यसरी केही महिना बित्यो । तर माया गर्छु भनेर भन्न सकिएन । एक दिन उसले साथिलाई खबर पठाई उसले मलाई माया गर्छे रे भनेर मैले पनि प्रतिउत्तर साेहि पठाए । त्यसपछि म आफू नरहेको आभास हुन थाल्यो कताकता हराएको अनुभुती भयो । त्यो दिन हामी सँगै फर्किएनाैँ । उसले घर पुग्ने बितिक्कै बुबाको माेबाईलमा म्यासेज गरिछे मायाका शब्दहरु मिलाएर । त्यो समयमा म त्यति मायाको शब्दहरु बुझ्दिनँ थिएँ जति अहिले बुझ्छु । त्यसपछि उसले पत्र लेख्न आग्रह गरेर म्यासेज गरि । अब भने मलाई अप्ठ्यारो परेको महशुस भयो । जिन्दगीमा कुनै आफन्तलाई पत्र लेखेको बानि थिएन अब कसरी एकाएक प्रेमपत्र लेख्ने । बढाे गम्भीर भएँ । मनले निर्देश गर्नथाल्यो "नेपाली पढेको छस जाबाे पत्र लेख्न सक्दैनस । अवसर फेरि नआउन सक्छ लेखी हाल पत्र ।" म कापि र कलम लिएर लेख्न बसेँ । सुरुवात यसरि गरियो ।
प्रिय पुर्णिमा
मिठाे माया अनि सुमधुर सम्झना
वाह!! यत्ति मात्रै के लेखेको थिएँ फेरि एकाएक मनमा प्रश्न उब्जियाे "म याे समयमा पत्र लेख्दै छु या भाग्य लेख्दै छु ?? " मनले उत्तर दियो उनी नै तेरो भाग्य हुन तसर्थ तँ पत्र नभएर भाग्य लेख्दै छस् । मलाई पनि त्यहि लाग्यो अनि पत्र लेखन अगाडि बढाए । मज्जाले चार पेज भरियाे । अनेकन प्रेमका गजल र सायरिले सजाएँ अनि साईनपेनले साइडमा बुट्टा भरेँ  । ताकि त्यो मेरो सुन्दर भाग्य बनाेस । फेरि भाग्य जस्तो लेख्ने सुअवसर मिलेको कुरा लेख्न लापरबाही पनि त गर्न भएननि । मज्जाले सजाएर हल्का पर्फ्युम छरेर खाममा प्याक गरेँ ।किताबको बिचमा राखेँ र सिरानी मुनि हालेँ। अब भाग्य तयार भयो अर्थात पत्र ।
त्यो  रात मलाई निन्द्रा लागेन । प्रायः उसका तस्बिरहरु घुम्न थाले स्मृतिमा । सायद उसलाई पनि त्यस्तै भयो हाेला । भाेलि बेर सबेरै उठियाे अनि हल्का नुहाएर झाेला बाेकियाे सेन्ट छरेर लागियाे कलेज तिर । त्यो दिन बुढाहरुले केके पढाए केही स्मरण भएन मात्रै उ घुमि दिमागमा ।  छुट्टि भए लगत्तै उसले खबर पठाएको साथिलाइ विश्वास गरेर पत्र थमाएँ । उसले लगेर उसलाई दिएको देखेँ हल्का राहतको अनुभव भयो । त्यसपछि घर तीर लागेँ एक्लै ।
अब उसका यादहरुले काउकुति लगाउन थाले । समय ढिलो चलेको जस्तो लाग्थ्यो । सायद उत्तरको प्रतीक्षा गर्नु परेकाले हाेला । सायद प्रतिक्षाकाे घडि साह्रै पिडादायि हुन्छ । भाेलि सम्म कुर्नु पर्ने थियो उसको उत्तर पाउन । भाेलि बेर उसको पत्र हातमा परेसि पुरै पिरियड नपढि घरमा आए  । पत्र खाेलेर हेरेँ । वाह शब्दहरु क्या सुन्दर । अक्षरहरु क्या मिलेको । सायद उसलाई बानि थियो पत्र लेख्ने याे आभास भयो मलाई । उसले भबिष्यका केही सुन्दर आशाहरु पत्रमा लेखेकी थिई । अनि एउटा फाेटाे पनि पठाएकि रहिछे । सायरिका त कुरै छाेडाैँ सजावट झन खतरा त्यो पत्र त संग्रहालयमा राख्न उत्तम हुने खालको थियो । उ पनि सुन्दर थिई उ जतिकै सुन्दर थियो त्यो पत्र पनि । यसरी पत्र ओहोरदोहोर चलिरहेको थियो ।

प्रेमको असर पढाइमा पर्न थाल्यो । म जेहेन्दारबाट मध्यम श्रेणीको विद्यार्थी बनेँ । पढाइ खस्किएको भए पनि पढाइ भन्दा उ चाहिँ मेरो लागि प्यारि बनी । किताबका हरेक अक्षरहरुमा उसका तस्बिरहरू सलबलाउन थाले । अनि मस्तिष्कमा उसका शब्दहरू घुम्न थाले ।म झनझन कमजोर बनेँ पढाइमा । हामीले ११ लगभग एउटै प्रतिशत ल्याएर पास गर्याैँ । यश बिचामा हामी बिच धेरै पत्र ओहोरदोहोर भयो । फाेनमा धेरै कुराकानी भए तर हामीले एकअर्कालाई छाेएका सम्म पनि थिएनौं  । पढाइ खस्केसँगै अभिभावकले गालि गर्न थाले तर गालेकाे वास्तै भएन । कहिलेकाहीँ गालि खानु पर्दा त शाेच्ने गर्थें बेकार माया लगाए छु । तर जब म उसलाई देख्थेँ अनि संसार भुल्थेँ र  लाग्थ्यो कि जानेर नै माया लगाए छु । कक्षा १२ काे परिक्षा लगत्तै हाम्रो सम्बन्धमा पनि उतारचढाव आयो । म शहर छिरेँ उ गाउँ बसि  । माेबाईल नभएको कारण खासै कुराकानी हुन्न थियो । म छट्पटीमा हुन्थेँ तर उ चाहिँ खै के भई थाहा भएन । उसले मन बदलेकाे अनुभुती भयो । माया लगाए सँगै म पढाइमा कमजोर बनेँ उ भने राम्रो भई । सायद उसले यत्तिका लागि सम्बन्ध जाेडेकि थिई  र त ताेडि । जब सम्बन्ध ताेडियाे म पागल झैँ बनेँ । सायद जाे काेहि आफुले शाेचे जस्तो जिन्दगी नहुँदा पागल हुन्छ । प्रेम छुटे सँगै जिन्दगीको समाप्ति हुन्न बरु नयाँ सुरुवात हुन्छ भन्दै नयाँ लक्ष्य निर्धारण गरेर अघि बढेँ । आफ्नो दिलकाे मान्छेकाे खुसि हेर्न पाउनु नै खुसि हाे भन्दै हेरेर बसेँ । उसले अन्तै बिहे गरि अन्ततः मैले पनि गरेँ । सायद यहि त हाेला माया अनि जीवन यात्रामा फरक । थाहा छैन उ खुसि छे या दुखि तर म भने अति खुसि छु किनकि अचेल निस्वार्थ प्रेम पाउँछु म ।
दिपेन्द्र परिवर्तित
माल्टा ललितपुर

No comments:

Post a Comment