विप्लवकाे विगतठमाडाै पुस २२ – नेकपा माओवादीका सम्मेलन आयोजक समितिका संयोजक नेत्रविक्रम चङन्द ‘विप्लव’ अर्धभूमीगत भएको बजार हल्ला छ । माओवादीबाट विभाजित बनेपछि पुनः युद्ध गर्ने र भूमीगत हुने हल्लाले विप्लव नेपाली राजनीतिको केन्द्रमा छन् । उनै विप्लवको विगत कस्तो थियो त ?
‘जीवन’ र ‘नविन’ हुँदै ‘विप्लव’
नेत्र विक्रम चन्द ‘विप्लव’ को जन्म २०२४ साल फागुन ११ गते रोल्पाको इरिवाङ गाविस वडा नम्बर ५ मा बुबा चित्रबहादुर चन्द र आमा खुशीमाया घर्तीबाट भएको हो । २०५२ सालमा विप्लव नाम राख्नुअघि उनको नाम जीवन र नवीन थियो । उनको सम्पूर्ण परिवार कृषिमा आधारित श्रमसँग जोडिएकाले उनको वाल्यकाल बस्तुभाउ हेर्ने, खनजोत गर्ने, मेलापात जाने कामहरुबाटै अघि बढेको थियो । विप्लव विद्यालय छुट्टीको समयमा घाँस काट्ने, जोत्ने र गाईबस्तु हेर्ने काम गर्थे । बाल्यकालमा मेलापर्वमा सामूहिक नृत्य गर्ने, गाउने बजाउने र सामुहिक तरिकाले गाउँको रक्षा गर्ने र भिडन्त गर्ने कुराले उनलाई प्रभावित पाथ्र्यो । विरोधी वा गलत चीजसँग सामूहिक रुपमा प्रतिकार गर्नु संस्कृतिका रुपमा विकास भएको उनीसंगै बाल्यकालमा संगत गर्नेहरु बताउँछन् ।
उच्च शिक्षाको लागि स्नातक अध्ययन गर्दागर्दै उनी जनयुद्धमा लामबद्ध भए ।
विप्लवका परिवारमा उनकी श्रीमती सुभद्रा मल्ल, छोरी सन्जु चन्द र छोराहरु प्रकाश र नक्षेत्र मल्ल छन् । जनयुद्ध सुरु भएपछि उनले सबै सम्पति पार्टीकरण गरेका हुन् ।
विप्लबले जनादेश, जनआह्वान, पृष्ठभूमि, महिमा, क्रान्ति (म्यागेजिन), जनयुद्ध म्यागेजिन, जनदिशालगायत पत्रपत्रिकामा लेख्ने कामसमेत गरे । विचारमा प्रतिबद्धता उनको अर्को प्रतिबद्धता हो ।
जनयुद्धपूर्व रोल्पा सदरमुकाम लिवाङ्मा बसेको समयमा उनी कृष्णबहादुर महरा र कृष्णसेन इच्छुकसँग नजिक भए र क्रमश : पञ्चायत विरोधी गतिविधिमा संलग्न भए । ३६ सालमा विद्यार्थी आन्दोलनको समयमा जुलुसले सिडियो कार्यलय घेरेपछि उनी राजनीतिप्रति आकर्षित बनेका हुन् । विप्लब कृष्णसेन इच्छुक र महराको व्यबहारबाट प्रभावित भएर राजनीतिमा आएको बताइन्छ ।
सुरुमा सदस्यता नलिइकनै अनेरास्ववियु छैटौंमा क्रियाशिल रहेका उनले २०४२ सालमा काशीराम घर्तिको हातबाट विद्यार्थी संगठनको सदस्यता लिएका थिए । सदस्यता लिएपछि उनी लिवाङमै इकाइ अध्यक्ष बने । ४३ सालको अन्तिममा उनी विद्यार्थीको जिल्ला अध्यक्ष बने । काठमाडौं आएपछि पनि उनी जिल्ला सचिव र क्रमश अध्यक्ष बने ।
२०४७ सालमा विद्यार्थीको बागमति क्षेत्रको अध्यक्ष बने । २०४८ सालमा विद्यार्थीको केन्द्रीय सदस्य बने । पार्टीको युवा संगठनको जिल्ला सचिव पनि बने । पार्टीको भने २०४८ सालमा एरिया समिति सदस्य बने । २०५०सालमा पार्टीको काठमाडौं जिल्ला समिति सदस्य । २०५१ सालमा पार्टीको पार्टीको ललितपुर जिल्ला सचिव बने । २०५२ साल बैशाखमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी) को तेह्रौँ राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा निर्वाचित । जनयुद्धको सुरुवाती चरणमा उनी ललितपुरको पार्टी सचिव थिए । २०५३ सालमा उपत्यका उपक्षेत्रीय समिति सदस्य जिम्मेवारी सम्हालेपछि २०५३ साल अन्तिममा उपत्यका ब्युरो सदस्य बने । २०५४ सालको जेठमा कर्णाली उपक्षेत्रीय ब्युरोको इन्चार्ज बने पछि सोहि सालका सम्पन्न पार्टीको विस्तारित बैठकले केन्द्रीय सदस्य बनेका थिए ।
५८ साल देखि २०६३ सम्म राप्ती विशेष ब्युरोको इन्चार्ज र २०६२ सालमा बनेको केन्द्रीय आधारइलाका ब्युरोको इन्चार्ज बनेका थिए ।
५९ सालमा उनी तत्कालीन नेकपा माओवादीको पोलिटब्युरो सदस्य बनेका थिए । पार्टीको भक्तपुरमा बसेको बैठकको निर्णयले उनी सुदूरपश्चिम कमाण्ड, (सेती–महाकाली) इन्चार्ज बनेपछि स्थायी समिति सदस्य हुँदै हुम्दै केहि वर्षअघि बौद्धमा भएको भेलाबाट एमाओवादीसँग विभाजित नेकपा–माओवादीका केन्द्रीय सचिव बने ।
जनयुद्ध आरम्भ भएपछि सबैभन्दा पहिले कमिसारको जिम्मेवारी लिएर भरुवा बन्दुक र रभल्भरको भरमा कर्णालीको सन्नीगाड प्रहरीचौकी कब्जा गर्न सफल विप्लव नेतृत्वले २०५६ साल जेठमा पदमघाट (कालिकोट) चौकी रेड गरेको थियो । भिषण युद्ध मोर्चाको रुपमा लिएको म्याग्दी सदरमुकाम बेनीको युद्धमा उनी कमिसार थिए । दाङको घोराहि मोर्चामा पनि नेतृत्वदायी भुमिका निर्वाह गरेका उनले सदबारिया शसस्त्र प्रहरी क्याम्पमाथिको लडाईंको योजना बनाएको बताइन्छ । त्यस्तै प्युठानका केही एम्बुस र माइन तथा कमलविनायक , नौमूले (दैलेख) योजनाकार विप्लव खारा दोस्रो मोर्चामा कमिसारको जिम्मेवारीमा थिए ।
विप्लवको जेलजीवन
पञ्चायतकालमा पटकपटक गिरफ्तार भएर केहि समय प्रहरी हिरासत र डिल्लिबजार सदरखोरमा जेलजीवनसमेत बिताएका उनले २०४६ सालको जनआन्दोलनपछि तथा ४८ सालमा दुइपटक र जनयुद्धको क्रममा २०५५ सालमा किलो सेरा टु’ अप्रेसन चलिरहेको बेला बाजुरामा गिरफ्तार संयोगले बाँचेका थिए ।
खरा र महत्वकांक्षी
विप्लवलाई नजिकबाट चिन्नेहरु बताउँछन् – उनी खरा छन् । साथै महत्वकांक्षी पनि । एनेकपा माओवादी फुट्नुमा विप्लबको हात छ भन्नेहरुको कमी छैन । माओवादी आन्दोलनबाट आएकाहरुमा उनी सिद्धान्तनिष्ट र सरल हुन् भन्छन् ।
सादा जिवनशैली बिताउने विप्लब हम्मेसी रिसाँउदैनन् । आलोचना पचाउन सक्ने नेताको रुपमा उनको परिचय छ । तर नेतृत्वमा चाँडै पुग्नुपर्ने हद महत्वकांक्षी स्वभाव रहेकोसमेत उनी निकटकाले बताउँछन् ।
युवाहरुका बिचमा काम गर्न र संगत गर्न रुचाउने उनको राजनितिक स्वभाव हो । एमाओवादीबाट फुटेपछि उनी आफैंले भनेजस्तो वैद्यलाई पनि सँगै लैजाने मनस्थितिमा उनी थिएनन् । तत्काल आफूले पार्टी फुटाउँदा कार्यकर्ताले नपत्याउने भयमा विप्लब थिए । वैद्य र बादलहरुको साथमा एमाओवादीबाट फुट्ने र पछि गएर आजको जसरी पुनः फुट्ने योजनामा उनी पहिल्यै रहेको बताउनेहरुको संख्या माओवादीमा उलेख्य छ ।
हाल केन्द्रीय भेलाको क्रममा दाङमा रहेका विप्लवले आगामी पार्टीको निति कस्तो बनाउँछन् त्यसैले उनको भविष्य निर्धारण गर्नेछ ।